‘जलवायु परिवर्तनका असरहरू टार्न युवा र महिलाको सक्रिय सहभागिता आवश्यक’

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले जलवायु परिवर्तन, बाढीपहिरो, महिला सहभागितालगायतका विषयमा आफ्ना धारणाहरु राखे ।
नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्टले सबै राजनीतिक धारहरू अलग भए पनि जनसेवा, राष्ट्रिय हित र एकताको लक्ष्य साझा रहेको बताउँदै सबै मिलेर जाुनपर्ने बताए । उनले भने, पहाडमा बाढीपहिरो र तराईमा पानीको अभावले जनताको दैनिकी सङ्कटमा परेको छ । कस्तो व्यवस्थापन कसरी गर्ने भन्नेमा सरकारको चासो जाओस् । सांसद भट्टले ‘कुलिङ अफ पिरियड’ प्रावधानमाथि अनावश्यक चलखेल देखिएकाले सबै मिलेर अघि बढ्नुपर्ने बताए ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद रेणु चन्दले एकीकृत निर्वाचन व्यवस्थापन विधेयक ल्याउन किन ढिलाइ भइरहेको छ भन्ने प्रश्न गरे । उनले सामाजिक सञ्जालसम्बन्धी विधेयक, शिक्षा विधेयकमा पनि चासो नदिएको बताए । सांसद चन्दले एकीकृत निर्वाचन व्यवस्थापन विधेयक ल्याउन ढिलाइ भइरहेको कारणबारे प्रश्न गरे ।
उनले सामाजिक सञ्जालसम्बन्धी विधेयक तत्काल ल्याउनुपर्ने बताउँदै भने, हुन त संविधानमा सुनिश्चित छ, तर ३३ प्रतिशत महिला उम्मेद्वारी सुनिश्चित गर्ने यो विधेयकको तत्काल आवश्यकता छ । विभिन्न प्रगतिशील आन्दोलनमा बराबर सहभागी भएर मिलेर अधिकार ल्यायौँ तर हिस्साका लागि अझै लड्न बाध्य छौँ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद मदन कुमारी शाहले जलवायु परिवर्तनबाट नेपाल अत्यधिक प्रभावित भएकाले सरकारको ध्यानाकर्षण गराए । उनले रसुवागढीको बाढी, डोल्पाको क्षति, मधेशको सुक्खा अवस्था र खाद्य सङ्कटको अवस्था जलवायु परिवर्तनले निम्तिएकाले योजना बनाएर कार्यक्रम गर्नुपर्ने बताए । जलवायु परिवर्तनका असरहरू टार्न अब युवा र महिलाको सक्रिय सहभागिता आवश्यक छ । सरकार विपद्मैत्री र जलवायु उत्तरदायी शासन प्रणालीतर्फ अग्रसर हुनुपर्छ ।

प्रतिक्रिया