‘लेटर अफ एक्सेन्ज’मा हस्ताक्षर गर्न स्वीकृति प्रदान गरिने

काठमाडौं । सरकारले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोप ण चिकित्सा केन्द्र परियोजना कार्यान्वयनसम्बन्धी चीन सरकारसँग ‘लेटर अफ एक्सेन्ज’मा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
आज पत्रकार सम्मेलनमार्फत यही साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन गर्न सरकार तयार रहेको जानकारी दिए ।
उनले साउन १३ देखि १५ गतेसम्म भुटानको राजधानी थिम्पुमा आयोजना हुने ‘प्रमोटिङ एग्रो इकोलोजिकल एप्रोच फर सस्टेनेवल ट्रान्सफमेसन अफ एग्री–फुड सिस्टमस् इन’ साउथ एसिया कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य गङ्गादत्त अवस्थीलाई स्वीकृति प्रदान गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको बताए ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले विश्व बैंकबाट विकास प्रभावकारिताका लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा विश्व बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने सरकारको निर्णय रहेको जानकारी दिए ।
यसैगरी, साउन ७ देखि १५ गतेसम्म जिम्बावेमा आयोजना हुने १५ औँ ‘मिटिङ टु द कन्फ्रेन्स अफ द कन्ट्रयाकटिङ पार्टिइज् टु द कन्भेन्सन अन वेटल्यान्डस कप’ मा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्री रूपा विकलाई स्वीकृति प्रदान गर्ने, नायब महान्यायाधिवक्ता डा टेकबहादुर घिमिरेले यही साउन २ गतेदेखि लागू हुनेगरी पेस गरेका स्वच्छिक अवकाश स्वीकृत गर्ने निर्णय गरिएको उनले उल्लेख गरे ।

प्रतिक्रिया