पत्रकार यादवमाथिको आक्रमणप्रति कडा विरोध, दोषीलाई कारबाहीको माग

नेपालखोज २०८२ साउन ९ गते १६:३०

काठमाडौं । रौतहटमा समाचार संकलनका क्रममा पत्रकार राजकुमार यादवमाथि भएको कुटपिटप्रति नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समिति र श्रमजीवी पत्रकार संघ, नेपालले गम्भीर आपत्ति जनाएका छन् । पूर्वमन्त्रीका छोरा विवेक साहसहित अन्य व्यक्तिहरूले यादवमाथि साउन ८ गते शारीरिक आक्रमण गरेका थिए ।

दुबै पत्रकार संगठनले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा यस्तो कार्य स्वतन्त्र, निष्पक्ष र उत्तरदायी पत्रकारितामाथि हमला भएको स्पष्ट उल्लेख छ । उनीहरूले लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताको खिल्ली उडाउने यस्ता घटनाको तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसमक्ष माग गरेका छन् ।

घाइते पत्रकार यादवको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, उपचारको सम्पूर्ण व्यवस्था मिलाउन सम्बन्धित निकायलाई अपिल गरिएको छ। पत्रकार संगठनहरूले पत्रकारहरूको सुरक्षालाई सुनिश्चित गर्न राज्य गम्भीर बन्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया