एडिबीको सहयोगमा बन्ने घट्टेखोला-धम्पुस-खानी गाउँ सडक शिलान्यास

नेपालखोज २०८२ साउन ९ गते २०:१७

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका-७ को पर्यटकीय गाउँ धम्पुस पुग्ने प्रमुख घट्टेखोला-धम्पुस-खानीगाउँ सडक निर्माणको आज शिलान्यास गरिएको छ ।

नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)को सहयोगमा निर्माण हुन लागेको सडकको गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शिलान्यास गरे । मध्यपहाडी राजमार्गस्थित हेमजा घट्टेखोलाबाट धम्पुस हुँदै खानीगाउँसम्मको १३ किमी सात सय मिटर सडक स्तरोन्नतिको सुरु भएको हो ।

गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको ग्रामीण सडक सुधार परियोजना (आरसिआइपी)को ३० करोड १८ लाख ९४ हजार लागतमा सडक स्तरोन्नति गर्न लागिएको हो ।

आरसीआइपी परियोजना पोखराका प्रमुख लक्ष्मी भण्डारीले आगामी दुई वर्षभित्रमा सडक निर्माण सम्पन्न गर्नेगरी गत फागुनमा निर्माण कम्पनी विविआर कन्स्ट्रक्सन काठमाडौँसँग ठेक्का सम्झौता गरिएको जानकारी दिनुभयो । निर्माण कम्पनीले काम सुरू गरिसकेको छ ।

भण्डारीका अनुसार पहिलो सात किलोमिटरसम्म अस्फाल्ट कालोपत्र र बाँकी सडकमा ‘डिबिएसटी’ प्रविधिबाट हुनेछ । घट्टेखोला–धम्पुस–खानीगाउँ सडकको २०६१ सालमा ट्रयाक खुलेको हो ।

पर्यटकीय गाउँमा दुई दशकपछि पक्की सडक निर्माणकार्य सुरू भएसँगै स्थानीय समेत उत्साहित भएका छन् । धम्पुस पर्यटकीय गाउँका साथै विश्वप्रख्यात मर्दी हिमाल र अन्नपूर्ण आधार शिविरको प्रवेशद्वारसमेत हो ।

प्रतिक्रिया