एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति

नेपालखोज २०८२ साउन १० गते ११:३०

काठमाडौं । यहाँको चन्द्रागिरि नगरपालिका–५ भुजिङडोलमा एउटै ढुङ्गामा १०८ वटा शिवलिङ्ग १०८ वटै नागसहितको मूर्ति कुँदिएको छ ।

सोही ढुङ्गामा विश्राम गरिरहेका महादेव पनि निर्माण गरिएको छ । महादेवको शिरमा सातमुखे नागले सुरक्षा दिइरहेको आकृति निक्कै सुन्दर बनाइएको छ । छेवैमा साँढे र यज्ञ कुण्ड निर्माण गरिएको छ । यहाँ हालै विश्रामेश्वर महादेवको मूर्ति स्थापना गरिएको हो ।

सात तहमा बनाइएको शिवलिङ्गको हरेक तहमा १०८ वटा नाग बनाइएको छ । अध्यक्ष श्रेष्ठले बुबा धनलाल र आमा न्हुच्छेमायाको चाहनाबाट निजी प्रयासमा यो मूर्ति बनाएको र यहाँ मन्दिर निर्माण जारी रहेको बताए । मन्दिर निर्माणलगायतमा स्वेच्छिक सहयोग गर्न सकिने श्रेष्ठले बताए । यहाँ ३० हजार १०५ सहयोग गर्नुहुनेका नाममा एउटा शिवलिङ्ग र आजीवन सदस्य रहने तथा तीन पुस्ताको नाम शिलापत्रमा राखिने जनाइएको छ ।

हाल यहाँ शिवपुराण ज्ञान महायज्ञ सञ्चालन भइरहेको छ । महायज्ञका संयोजक ध्रुवकुमार घिमिरेले गोसाइँकुण्डमा विश्राम गरिरहेका महादेवलाई यहाँ स्थापना गरिएको बताए ।

मुख्यगरी धार्मिक पर्यटन प्रवर्द्धन गर्न उद्देश्य रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । त्यसो त विश्रामेश्वर महादेव र मन्दिर निर्माण गर्नुमा विशेष कारण छ । श्यामलाल श्रेष्ठका बुबा धनलालले सपनामा यहाँ भगवान् शिवलाई सुतेको देखिरहनुहुन्थ्यो । त्यसकारण उनले यहाँ मन्दिर बनाउन अनुरोध गर्नुभएको थियो । उनको निधनपछि आमा न्हुच्छेमायालाई पनि त्यही दृश्य झल्झली आइरह्यो । भर्खरै ८४ गरिएकी न्हुच्छेमायाले पनि मन्दिर बनाउन छोराहरुलाई अनुरोध गरे ।

उनीहरुकै चाहना पूरा गर्न आफूले मन्दिर निर्माण थालेको श्रेष्ठले बताए । सो ढुङ्गामा कलाकार काजी लामाले छ महिना लगाएर मूर्ति कुँदेका हुन् । त्यसका लागि श्यामलालले रु ३७ लाख कलाकारका लागि पारिश्रमिक दिनुभएको छ । करिब सात लाख ढुङ्गा यहाँसम्म ल्याउन खर्च लागेको उनको भनाइ छ ।

तरकारी ढुवानी व्यवसाय गर्ने श्रेष्ठले आमाको जिउनीबाट प्राप्त पैसा र त्यसमा थप लगानी गरेर मूर्तिसहितको मन्दिर निर्माण गरिरहेको र हालसम्म कतैबाट सहयोग प्राप्त नभएको बताए ।

प्रतिक्रिया