साढे दुई लाखभन्दा बढी पर्यटकले गरे पार्क अवलोकन

कैलाली । गत आर्थिक वर्षमा कैलालीको टीकापुर पार्कमा साढे दुई लाखभन्दा बढी पर्यटकले अवलोकन गरेका छन् ।
आर्थिक वर्ष २०८१/८२ मा दुई लाख ५३ हजार चार सय ६८ जना आन्तरिक पर्यटकले टीकापुर पार्कको अवलोकन गरेका हुन् । टीकापुर नगरपालिकाको मातहतमा रहेको टीकापुर पार्कबाट नगरपालिकाले गत आवम ९३ लाख ४४ हजार चार सय १० राजस्व सङ्कलन भएको छ । आव २०८०/८१ मा नगरपालिकाले पार्कबाट ६३ लाख ९७ हजार एक सय ७५ राजस्व सङ्कलन गरेको थियो ।
टीकापुर नगरपालिकाका राजस्व शाखा प्रमुख नन्द केसीले दिएको जानकारीअनुसार गतवर्ष दुई लाख १८ हजार दुई सय ८ जना स्वदेशी पर्यटकले पार्कको अवलोकन गरेका थिए । जसबाट ६५ लाख ४६ हजार दुई सय ४० राजस्व सङ्कलन भएको छ भने ३५ हजार दुई सय ६० जना विद्यार्थी तथा जेष्ठ नागरिकहरूले पार्क अवलोकन गरेका छन् । उनीहरूबाट नगरपालिकाले पाँच लाख ५८ हजार नौ सय राजस्व सङ्कलन भएको देखिन्छ ।
त्यतिमात्र नभई पार्क अवलोकनमा आउने पर्यटकहरुको सवारीसाधन पार्किङबाट मात्रै आठ लाख ३७ हजार एक सय राजस्व उठेको नगरपालिकाका राजस्व शाखा प्रमुख केसी बताउछन् । त्यसैगरी पिकनिक स्पट, फोटोग्राफी, क्यामरालगायत विविधबाट १४ लाख ३२ हजार एक सय ७० सङ्कलन भएको छ ।
पार्कमा रहेको वीरेन्द्र विश्राम घर पर्यटकका लागि खुला गरिएपछि पछिल्लो समय पर्यटकहरुको आवागमन बढ्दै गएको हो । पार्कमा पछिल्लो समय दैनिक करिब पाँच सय पर्यटन अवलोकनका लागि आउने गरेका छन् ।
पार्कमा व्यावसायिक फोटोग्राफी सञ्चालन भएपछि पनि पर्यटकको संख्या बढेको देखिन्छ । अहिले पार्कभित्र करिब ३५ जना युवाहरू व्यावसायिक फोटोग्राफीको काम गर्दै आएका छन् । टीकापुर नगरपालिका–३ का नैनबहादुर चौधरी कुखुरापालन व्यवसाय छोडेर दुई वर्षदेखि फोटोग्राफरको काम गर्दै आएका छन् । कुखुरापालनबाट भन्दा राम्रो आम्दानी फोटोग्राफीबाट हुने भएपछि यतातिर लागेको उनको भनाइ छ ।
पार्कभित्र फोटोग्राफीको काम गर्ने अधिकांश युवाहरू अध्ययनसँगसँगै फोटोग्राफरको काम गर्दै आछन् । टीकापुर स्थिति खड्ग स्मृति माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षा दिएका सुनिल चौधरी अहिले पार्कमा फोटोग्राफीको काम गर्दै आछन् । उनले फुर्सदको समयलाई सदुपयोग गर्दै दैनिक रु दुईदेखि तीन हजार आम्दानी गर्दै आएको बताए ।
नगरपालिकाले चालू आर्थिक वर्षबाट पार्कको प्रवेश शुल्क वृद्धि गरेको छ । यसभन्दा पहिलेप्रति व्यक्ति ३० रुपैयाँ लाग्दै आएको शुल्क बढाएर ५० पुर्याइएको छ । त्यसैगरी विद्यार्थी, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकले यसभन्दा पहिले प्रतिव्यक्ति १५ तिर्दै आएकोमा अब ३० तिर्नुपर्ने हुन्छ । नगरपालिकाको आर्थिक ऐन २०८२ अनुसार उक्त दर हेरफेर गरिएको नगरप्रमुख रामलाल डगौरा थारुले बताए ।
त्यसैगरी प्रतिदिन रु एक सयमा व्यावसायिक फोटोग्राफीको काम गर्दै आएका व्यवसायीको शुक्ल वृद्धि गरेको छ । अहिले प्रतिदिन फोटोग्राफरले पार्कभित्र फोटो खिचेको दुई सय शुल्क तिर्नुपर्ने भएको छ । रासस

प्रतिक्रिया