सडक निर्माणका लागि सहयोग अभियान

गण्डकी । सडक निर्माणका लागि बजेट अपुग भएपछि बागलुङको ताराखोला गाउँपालिका-३ का बासिन्दाले आर्थिक सहयोग अभियान सुरु गरेका छन् ।
डोप्टा-बराहखोला जोड्ने सडकमा पर्ने चेवटको भिर काटेर मार्ग खोल्न सरकारी बजेटले नपुगेपछि उपभोक्ताले रकम जुटाउन सुरु गरेका हुन् । सडक निर्माणका लागि गत आर्थिक वर्षमा गाउँपालिकाको ३० लाख र गण्डकी प्रदेश सरकारले २० लाख बजेट विनियोजन गरेका थिए । समितिले रु ७५ लाखमा सडक निर्माणको ठेक्का लगाएको थियो ।
अपुग रकम जुटाउन सहयोग अभियान सञ्चालन गरिएको सडक निर्माण समितिका अध्यक्ष एवं आर्थिक सङ्कलन समितिका संयोजक खड्गबहादुर नाउसाले बताए । सडक निर्माणमा स्थानीयवासीले श्रमदानसमेत गरेका थिए ।
अप्ठ्यारो भूगोलका कारण गाउँपालिका र प्रदेश सरकारले दिएको बजेटले मात्र काम सम्पन्न हुन नसकेको उनले बताए ।
ताराखोलाबाट विदेशमा गएकाहरुबाट पनि सहयोगको प्रतिबद्धता आएको अध्यक्ष नाउसाले बताए । विभिन्न आमा समूह, सङ्घसंस्थालगायतबाट पनि सहयोग प्राप्त भइरहेको उनको भनाइ छ । ग्रामीण सडक निर्माणमा स्थानीय उपभोक्ताहरुबाट श्रमदान र आर्थिक सहयोग जुट्नु सुखद् पक्ष रहेको अध्यक्ष नाउसाले बताए ।

प्रतिक्रिया