बुद्ध शिक्षामार्फत कूटनीति र शान्तिमा नयाँ आयाम ल्याउन सकिन्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यावहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आजको आवश्यकता भएको बताएका छन् ।
‘कूटनीति र बुद्धका शिक्षाः विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग’ विषयक अन्तरराष्ट्रिय सङ्गोष्ठीको आज लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले गौतम बुद्धको शिक्षा द्वन्द्वभन्दा संवाद, प्रतिस्पर्धाभन्दा सहयोग र द्वेषभन्दा मित्रता निर्वाह गर्ने मूल्यमान्यतामा आधारित रहेको बताए ।
मुख्यमन्त्री आचार्यले लुम्बिनीलाई केबल धार्मिकस्थलका रूपमा नभई मानवता, सहिष्णुता र अहिंसाको प्रतीकका रूपमा चिनाउनुपर्ने आवश्यकता औँल्याए ।
नेपाल-भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र धार्मिक रूपले अन्योन्याश्रित रहेको उल्लेख गर्दै उनले बुद्ध धर्म, भाषा, लिपि, परम्परा र दर्शनको साझा आधारमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन शिक्षा, अध्ययन, अनुसन्धान तथा सांस्कृतिक सहकार्यलाई सशक्त माध्यमका रूपमा प्रयोग गर्न सकिने धारणा राखे ।
उनले लुम्बिनीको समग्र विकासका लागि प्रदेश सरकारले अघि सारेको ‘लुम्बिनी विकास प्राधिकरण’ अवधारणाले कपिलवस्तुदेखि रामग्रामसम्म फैलिएको सम्पूर्ण बौद्ध सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया