इयुद्वारा १५ प्रतिशत अमेरिकी कर स्वीकार

नेपालखोज २०८२ साउन १२ गते १३:३५

टर्नबेरी (बेलायत) । संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घ (इयु) आइतबार एक व्यापार सम्झौता गरेका छन् । उक्त सम्झौताअन्तर्गत इयुको निर्यातमा १५ प्रतिशत कर लगाइने छ । यो सम्झौता ट्रान्सअटलान्टिक भन्सार शुल्क विवादलाई समाधान गर्न गरिएको हो जसले पूर्ण व्यापारिक युद्धमा परिणत हुने खतरा थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्कटल्यान्डको आफ्नो गल्फ रिसोर्टमा युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनसँगको उच्चस्तरीय बैठकबाट बाहिर निस्किए र यो सम्झौतालाई ‘सबैभन्दा ठूलो’ भने । युरोपेली सामानमा ३० प्रतिशत अमेरिकी करबाट बच्नका लागि अगस्ट १ को समयसीमा समाप्त भएपछि नेताहरूले करिब एक घण्टामा सम्झौता गरेका थिए । हामीले सम्झौता गरेका छौँ । यो सबैका लागि राम्रो सम्झौता हो । यो सायद कुनै पनि क्षेत्रमा गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो सम्झौता हो, ट्रम्पले भने ।

ट्रम्पका अनुसार १५ प्रतिशतको आधारभूत कर युरोपको महत्त्वपूर्ण अटोमोबाइल क्षेत्र, फर्मास्युटिकल्स र सेमीकन्डक्टरहरू सहित सबैतिर लागू हुनेछ । ट्रम्पले सम्झौताको एक हिस्साका रूपमा २७–राष्ट्र इयु ब्लकले संयुक्त राज्य अमेरिकाबाट ‘सात खर्ब ५० अर्ब डलर मूल्यको ऊर्जा’ खरिद गर्न सहमत भएको र छ खर्ब डलर थप लगानी गर्न सहमत भएको बताए । भोन डेर लेयनले रूसी स्रोतहरूबाट टाढा विविधीकरण गर्ने ब्लकको प्रयासको एक भागका रूपमा अमेरिकी तरलीकृत प्राकृतिक ग्यास, तेल र आणविक इन्धनको ‘महत्त्वपूर्ण’ खरिद तीन वर्षमा हुने बताए ।

इयुका २७ देशको तर्फबाट वार्ता गर्दै भोन डेर लेयनले सामान र सेवाहरूमा वार्षिक १९ खर्ब डलरको व्यापारिक सम्बन्ध बचाउन कडा प्रयास गरिरहेका थिए । यो राम्रो सम्झौता हो, इयु प्रमुखले पत्रकारहरूलाई भने, यसले स्थिरता ल्याउनेछ । यसले पूर्वानुमान क्षमता ल्याउनेछ ।

अटलान्टिकको दुवै किनाराका हाम्रा व्यवसायका लागि यो धेरै महत्त्वपूर्ण छ ।” उहाँले धेरै ‘रणनीतिक उत्पादनहरू’, विशेष गरी विमान, केही रसायन, केही कृषि उत्पादन र महत्त्वपूर्ण कच्चा मालमा द्विपक्षीय भन्सार शुल्क छुटमा सहमति भएको बताए । इयुले विशेष गरी मदिराका लागि अझै पनि तथाकथित ‘शून्यका लागि शून्य’ सम्झौताहरू सुरक्षित गर्ने आशा गरेको उनले बताए । उनले आउँदो दिनमा यो ‘समाधान’ हुने आशा गरे । भर्खरै नाटोभित्र आफ्नो रक्षा खर्च बढाउने वाचा गरेका इयुका सदस्यहरूले ‘सयौँ अर्ब डलर मूल्यका सैन्य उपकरणहरू’ खरिद गर्ने पनि ट्रम्पले बताए ।

प्रतिक्रिया