नाग पञ्चमी !

आज नाग पंचमी । हिन्दूहरुको पर्व । सर्प, साँप वा नाग जे भने पनि यस्को सम्बन्ध हामी मनुष्य जातीसँग बडो बिचित्रको छ । साँप हाम्रो शत्रु होइन । यस्ले बिनाकारण डस्दैन । यस्को नजिक गइयो भने अथवा यसलाइ कुल्चियो भने मात्र यस्ले मनिस देखि डराएर आफ्नो प्रतिरक्षा गर्न टोक्छ ।
साँपले डसेर मर्ने मानिसहरुको संख्याभन्दा साधारण रुघाखोकीले मृत्यु हुने मानिसहरुको संख्या यो दुनियाँमा बढी छ । नब्बे प्रतिशत साँप बिषालु हुँदैन । भारत वर्षमा प्राचीनकाल देखिनै हिन्दूहरु प्रकृति पूजक भएकोले हो या साँपको फाइदा बुझेर होला बर्षमा एक पल्ट नाग पंचमीको दिन यस्को पर्व मनाउने चलन छ । भनिन्छ कि यस्ले बाताबरणमा भएको विषालु हावा लाई ग्रहण गर्छ र वातावरण सफा पार्नमा सहयोग पुर्याउछ। अनि किसानहरुको खेतको मुसाहरु बाट रक्षा पनि गर्छ ।
एक अनुसन्धान अनुसार साँपले मानिसलाई डस्दा यस्को विष चढेर मर्नेभन्दा आत्तिएर, डराएर ‘हार्टफेल’ भएर मृत्यु हुनेको संख्या धेरै रहेछ/ बैज्ञानिकका अनुसार साँपले दूध खाँदैन । उस्ले कान सुन्दैन । बिन बजाउँदा सुन्दैन। बिन हल्लाउँदा साँप त्यस्को गति हेरेर हल्लिएको हो। सर्पदंशको एकमात्र इलाज ‘एन्टिभेनम’ हो ।
धामी, तन्त्रमन्त्र गर्दा साँपको विष झार्न सकिदैन । उस्को मणि हुँदैन । साँप इच्छा धारी पनि हुँदैन । यो सबै हिन्दी फिल्मको वाहियात कुराहरु हुन। कतै सुनेको थिए साँपको पनि गोत्र हुन्छ भनेर। साँपको जुन जुन गोत्रहरु हुन्छन् ती सबै गोत्रहरु हिन्दूहरुको पनि गोत्रहरु हुन अरे । त्यसैले हिन्दू धर्म शास्त्रमा सर्प लाई न मार्नु भनिएको छ। भगवान शिवको गलादेखि लिएर भगवान बिष्णुको शैया सम्म हामीले सर्प लाई स्थान दिएका छौं ।
पहिले मलाइ साँपदेखि खुब डर लाग्थ्यो । साथिहरुले मलाई जिस्क्याउथे पनि, कति साँप देखि त्रसित भएको भनेर । तर अचेल मलाई साँप भन्दा बढी मान्छेहरु सङ डर लाग्न थालेको छ । साँपले त उसलाई कुल्चियो भने मात्र डस्छ , तर मान्छेले त आफ्नो स्वार्थ सिद्धी र ईष्र्या प्रतिशोधको लागि बारम्बार अरु लाई डसी रहेका हुन्छन् ।
अचेल हाम्रा कतिपय आधुनिक युवा पुस्ता हामीहरुले नाग पंचमीका दिन घरमा नागहरुको पोस्टर टाँसेको देखेर मन-मनै हाँस्दा पनि हुन् । तर ‘इकोलोजिकल ब्यालेन्स’को लागि हाम्रा हिन्दू पूर्वजले हामी लाई साँपको मनुष्य जिवनमा कति महत्व रहेको छ भन्ने एउटा सन्देश पर्वको रुपमा दिएको पनि होला जस्तो लाग्छ ।








प्रतिक्रिया