पोखराको ऐतिहासिक सीमान्त बौद्ध सम्मेलन (२०१५): दुर्लभ सम्झना र सांस्कृतिक झल्को

नेपालखोज २०८२ साउन १५ गते ११:०७

पोखरामा सिमान्त बौद्ध सम्मेलन भएको थियो भन्ने बारेमा खासै धेरै जानकारी दिनेहरू भेटिएन । बुद्ध धर्म सम्बन्धी लेखिरहनु हुने तथा यस विषयमा विशेष ज्ञान राख्ने तिलकमान गुभाजुले भने आफू त्यति बेला मल्टी पर्पोज स्कुलमा पढ्दै गरेको हुँदा आफूले अवलोकन गरेको जानकारी दिए । १४-१५ वर्ष उमेरका तिलकमान गुभाजुले विस्तृत जानकारी खासै नभए पनि त्यो समयको याद भने गरे ।

आजभन्दा ६७ वर्ष अगाडि २०१५ सालमा पोखरामा भएको सिमान्त बौद्ध सम्मेलन आजसम्म पोखरामा भएको बौद्ध भेलाहरूमा शायद सबैभन्दा ठुलो भेला हुनुपर्दछ । यस भेलामा बौद्ध धर्मका अनुयायीहरू मात्र होइन अन्य साधु र पण्डितहरू पनि सहभागी भएको त्यस समयका तस्बिरहरू नियाल्दा थाहा पाउन सकिन्छ । मुस्किलले १० हजार पनि जनसङ्ख्या नभएको पोखरामा वरपर गाउँबाट समेत सम्मेलनको रमाइलो हेर्न मानिसहरूको राम्रै जमघट भएको थियो । विभिन्न स्कुलका विद्यार्थीहरू पनि त्यहाँ एकत्रित भएका थिए । यो सम्मेलनको उद्घाटन राजा महेन्द्रबाट हुने भनिएको हुँदा पनि राजालाई हेर्न पाउने मनसायले मानिसहरूको ठुलो जमघट भएको थियो । साथै राजाको स्वागत र सम्मानका लागि पनि विद्यालयका विद्यार्थीहरुलाइ समेत ल्याइएको थियो ।

सो सम्मेलनको सबैभन्दा रमाइलो पक्ष भनेको उपल्लो मुस्ताङमा ल्होवा समुदायले तिजी पर्वमा विशेष गरेर प्रदर्शन गरिने मुखुन्डो नाच तथा मान्हे नाचको प्रदर्शन गरिएको थियो । यी नाचहरू पोखरामा यसपछि भने कहिल्यै देखाइए जस्तो लाग्दैन । यस नाचले गर्दा पनि पोखरामा विशेष आकर्षण थपिएको थियो । तर यस सम्मेलनको जमघटमा पोखराको स्थानीय समूहहरूले भने आफ्नो नृत्यहरू प्रदर्शन गरेको भने देखिएन ।

६७ वर्ष अगाडि पोखरामा भएको सिमान्त बौद्ध सम्मेलनमा बागलुङमा रहेको पुरानो विद्यामन्दिर हाइ स्कुलबाट विद्यार्थीहरू सहभागी भएका थिए । यहाँ राखिएको तस्बिरमा खाकी कट्टु र गन्जीमा शारीरिक व्यायाम प्रदर्शन गर्दै गरेका छात्रहरूले एउटै किसिमको पहिरन लगाएको देख्न सकिन्छ । झट्ट हेर्दा सो समय भएको महोत्सवमा स्वयंसेवक रूपमा यी विद्यार्थीहरूले सहयोग गरेको जस्तो देखिन्छ । सो सम्मेलनका प्रत्येक गतिविधिका करिब २०० तस्बिरहरू सबै गहिराइसँग अवलोकन गरिसकेको छैन । अवलोकन गरेपछि भने त्यस समयका सामाजिक अवस्थाहरू विस्तृत रूपमा थाहा पाउन सकिनेछ ।

प्रतिक्रिया