नेपाल आइडिया फर वर्ल्डले नेपालमा भित्रियो ‘डोम हाउस’
काठमाडौं । नेपालमा पर्यटन, वातावरण र जीवनशैलीमा नवीनतम नवप्रवर्तन ल्याउने उद्देश्यसहित ‘नेपाल आइडिया फर वर्ल्डले अन्तरराष्ट्रियस्तरको ‘डोम हाउस’ नेपालमा भित्र्याएको छ । कमलादिस्थित स्काई टावरमा आयोजित विशेष समारोहमार्फत २५ वटा डोम हाउसको शुभारम्भ गरिएको हो ।
सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले डोम हाउसको उद्घाटन गर्दै निजी क्षेत्रको नवीनतम प्रयासको सराहना गरे । उनले भने, ‘नेपालजस्तो पर्यटकीय गन्तव्यका लागि डोम हाउस निकै प्रभावकारी हुन सक्छ । निजी क्षेत्रलाई सरकारले प्रोत्साहन गर्छ र झन्झटिला कानुन संशोधन गरिनेछ ।’
कार्यक्रममा विभिन्न राजनीतिक, सामाजिक, पर्यटकीय क्षेत्रका अगुवाहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । संस्थाका निर्देशक सन्तोष सुवेदीले डोम हाउस परियोजनाले ‘प्रभावका लागि नवप्रवर्तन, प्रगतिको लागि साझेदारी’ भन्ने मूल नारालाई आत्मसात् गरेर अगाडि बढ्ने बताए ।
उनले यस परियोजनाले नेपालमा हरित प्रविधिमा आधारित, पर्यावरणमैत्री, स्वदेशी डिजाइन र निर्माणमा आधारित प्रवृत्तिलाई बढावा दिने उल्लेख गरे । के हो डोम हाउस ? डोम हाउस एक अत्याधुनिक, पारदर्शी र मोड्युलर संरचना हो, जसलाई पर्यटन, स्वास्थ्य तथा वातावरणमैत्री जीवनशैलीसँग जोडेर डिजाइन गरिएको हो ।
यसमा रिसोर्ट, होमस्टे, रेस्टुरेण्ट, मिडिया स्टुडियो, निजी कार्यालय वा विभिन्न कार्यक्रमका स्पेसको रूपमा प्रयोग गर्न सकिने नेपाल आइडिया फर वर्ल्डका प्रमुख कार्यकारी अधिकृत उषा खतिवडाले भनिन् ।

प्रतिक्रिया