झाँगिदै सम्बन्धविच्छेद : स्वतन्त्रताको खोजी कि सामाजिक विचलन ?

पाल्पा । यहाँको बगनासकाली गाउँपालिकाकी एक युवतीले दुई वर्षअघि २१ वर्षको उमेरमा अन्तरजातीय विवाह गरे तर उनको दाम्पत्य जीवन तीन वर्ष पनि टिक्न सकेन । एक सन्तानकी उहाँ विवाह भएको दुई वर्ष पुग्दा नपुग्दै खटपट सुरु भयो । उनीलाई श्रीमान् र घरपरिवारबाट घरछेउका छिमेकीको घरमा जाँदा पनि छिमेकीको छोरासँग लागेकी भनेर शङ्का गर्ने र छोरालाई स्याहार नगरेको आरोप लगाउन थाले ।
आफूमाथिको आरोप मीनालाई सह्य नभएपछि घर झगडा सुरु भयो । श्रीमान्ले दिएको मानसिक तनाव बेहोर्न कठिन भएपछि उनले जिल्ला अदालतमा सम्बन्धविच्छेद (पारपाचुके) सम्बन्धी मुद्दा दर्ता गरे । त्यसपछि घरमा थप कलह बढ्यो । उनी आफ्नो घर त्यागेर माइती घरमा बस्न थाले । उनको पति-पत्नीको सम्बन्धविच्छेदको मुद्दा गएको जेठ १९ गते अलग हुने सहमतिमा मिलापत्र भयो । हाल ती युवती श्रीमान्बाट अंशसमेत नलिई सम्बन्धविच्छेद् गरेर माइतमा बस्तै आएका छन् ।
यसैगरी, रम्भा गाउँपालिकाकी अर्की महिलाले पनि सम्बन्धविच्छेद गरेका छन् । विदेशमा रहनुभएका श्रीमान्सँग अविश्वास बढेपछि बिहे गरेको ४ वर्षमा सम्बन्धविच्छेद गर्नु पर्यो । तानसेनकी एक महिलाको पनि पीडा उस्तै छ । १३ वर्षको उमेरमा २०५९ सालमा विवाह गरे । आमाबुबाको काखमा खेल्ने उमेरमा विवाह गरेकी उनले सोचेअनुसार वैवाहिक जीवन चल्न नसकेपछि जिल्ला अदालत पाल्पाबाट सम्बन्धविच्छेद गरे । पतिले मदिरा सेवन गरी कुटपिट गर्ने, मानसिक तथा शारीरिक यातना दिने, अन्य केटीसँग लागेका कारण उनले सम्बन्धविच्छेद गर्नुपरेको बताए ।
पारिवारिक खटपट भए पनि यसअघि सम्बन्धविच्छेदमा महिलाहरू मात्रै अग्रसर हुने गरेको देखिन्थ्यो । पछिल्लो समयमा पुरुषहरू पनि सम्बन्धविच्छेदका लागि धमाधम उजुरी दिन थालेका छन् । रम्भा गाउँपालिकाका एक युवाका आठ वर्षकी छोरी र डेढ वर्षका छोरा छन् । २८ वर्षको उमेरमै दुई छोराछोरी पाइसकेका उनले २४ वर्षकी श्रीमती सीमासँग २०८२ असार १९ गते सम्बन्धविच्छेद गरे । श्रीमतीले टिकटक र फेसबुकमा कुराकानी गरिरहने, आफूसँग निहुँ खोजिरहने र भनेको नमान्ने भएकाले सम्बन्धविच्छेद गर्नु परेको उनले बताए ।
रामपुरका ३५ वर्षीय अर्का युवाले पनि २७ वर्षीया श्रीमतीसँग सम्बन्धविच्छेद गरे । २०७० मा प्रेमविवाह गर्नुभएका उनका पनि सात वर्षका छोरा र दुई वर्षकी छोरी छन् । ती युवाले श्रीमती परपुरुषसँग लागेको थाहा पाएपछि सम्बन्धविच्छेद गरेका हुन् । ‘टिकटकमा परपुरुषसँगको भिडियो हाल्ने, परपुरुषलाई कोठामा बोलाउने, घर परिवारका सदस्यले भनेको नमान्ने भएपछि सम्बन्धविच्छेद गरी पाऊँ’, भनी उहाँले जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए ।
यी त केही प्रतिनिधि पात्र मात्र हुन् । अपरिपक्व विवाह, प्रेम विवाह र वैदेशिक रोजगारी जस्ता कारण पाल्पामा सम्बन्धविच्छेद गर्ने दम्पतीको सङ्ख्यामा वृद्धि भएको छ । जिल्ला अदालत पाल्पामा तीन वर्षमा सम्बन्धविच्छेदका मात्र एक हजार ३५६ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । अदालत पाल्पाका स्रेस्तेदार केशव पराजुलीका अनुसार २०७९/८० मा ४४३, २०८०/८१ मा ४२८ र २०८१/८२ मा ४८५ मुद्दा दर्ता भएका थिए ।
अघिल्लो आर्थिक वर्षमा कुल ८१५ मुद्दा दर्ता भएकामा सम्बन्धविच्छेदका मात्र ४८५ रहेका छन् । अधिकांश वैदेशिक रोजगारीमा जाने युवायुवतीको घरायसी सम्बन्ध बिग्रेर सम्बन्धविच्छेदका लागि अदालतसम्म आउने गरेको भेटिने गरेको स्रेस्तेदार पराजुलीले बताए ।
उनका अनुसार दर्ता मुद्दामध्ये एक हजार १४२ वटा फछ्र्यौट भएका छन् । सामाजिक सञ्जालको दुरुपयोग, कम उमेरमा विवाह, वैदेशिक रोजगारजस्ता कारणले गर्दा पारिवारिक बेमेल भएकाले सम्बन्धविच्छेदका मुद्दा बढ्दै गएका हुन् । सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रबाट बढी सम्बन्धविच्छेदका मुद्दा आउने गरेका उनको भनाइ छ ।
अझ रोचक तथ्य के छ भने यहाँ सम्बन्धविच्छेद गर्ने पुरुषको सङ्ख्या पनि बढ्दै गएको छ । गत आर्थिक वर्षमा ४८५ थान सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा ६६ वटा मुद्दा पुरुषले दर्ता गरेका थिए । पुरुषले दिएका अधिकांश मुद्दा पक्षमा फैसला भएका छैनन् । महिला अर्थात् पत्नीलाई प्रतिवादी बनाएर पुरुष अर्थात् पतिले सम्बन्धविच्छेद गर्न माग गर्दै मुद्दा दिनेका सङ्ख्या बढेको छ ।
पछिल्लो वर्षमा यस्ता खालका मुद्दा बढेका हुन् । तर, दाबीसहितको प्रमाण अपुग हुने गरेको पाइएको छ । केही पक्षमा फैसला भएको छ । पुरुषले दर्ता गरेका अधिकांश मुद्दामा प्रमाण नपुगेको अदालतका तहसिलदार रामप्रसाद पोखरेलले बताउनुभयो । विपक्षी महिलाले प्रतिउत्तर नलगाएका मुद्दा र दाबी अनुसारका प्रमाण पुगेका केही मुद्दामा मात्रै पुरुषको पक्षमा फैसला भएको पोखरेलको भनाइ छ ।
सम्बन्धविच्छेदलाई आज पनि पारिवारिक रूपमा कठिन परिस्थितिका रूपमा चित्रण गरिन्छ । दम्पतीले वैवाहिक सम्बन्ध तोडेर अलग हुने निर्णय गर्दा यसको असर उनीहरूका सन्तानमा पर्ने गरेको छ । बच्चाहरूमा त्यस्तो प्रभाव लामो समयसम्म रहने महिला अधिकारकर्मी गङ्गा पौडेल बताउछिन् ।
सम्बन्धविच्छेदका सकारात्मकभन्दा नकारात्मक असर भेटिने उनको भनाइ छ तर सम्बन्धविच्छेदसँग बालबालिकाको उदासीपनसँगै सकारात्मक पक्ष पनि जोडिएको हुन्छ ।

प्रतिक्रिया