करेन्ट लागेर रौतहटमा एक जनाको मृत्यु

रौतहट । ईशनाथ नगरपालिका–८ मन्सरी टोलमा सोमबार राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आफ्नै खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका ५५ वर्षीय शेख जाफिरको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार आइतबार राति साढे ९ बजे जाफिर खेतमा सिँचाइका लागि जडान गरिएको मोटर सञ्चालन गर्दै गर्दा करेन्ट प्रवाह भएको तारको सम्पर्कमा आएर गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै उपचारका लागि गौरस्थित प्रादेशिक अस्पताल लगिएको थियो । तर, राति पौने ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रवक्ता रायले जानकारी दिएका छन् ।
घटनाको जानकारी प्राप्त भएपछि रामपुरखाप प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घटनास्थल रामपुरखाप प्रहरी चौकीबाट करिब २ किलोमिटर दक्षिणमा पर्दछ । मृतकको शव पोस्टमार्टमका लागि हाल गौर अस्पतालमै राखिएको छ । प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको जनाएको छ । रौतहटमा विद्युतीय करेन्ट लागेर गत आर्थिक वर्षमा २३ जनाको मृत्यु भएको थियो ।








प्रतिक्रिया