असफलतामा सफलता देख्ने उद्यमी आदित्य झाको व्यावसायिक यात्रा

काठमाडौं । तराईको सामान्य गाउँ र पारिवारिक पृष्ठभूमिका आदित्य झा, अन्तरराष्ट्रिय जगत्मा ख्याति कमाएका एक उद्यमी, परोपकारी, समाजसेवी हुन् ।
उनले हुन् नेपाली मुलका क्यानडेली व्यवसायी । ‘अर्डर अफ क्यानडा’ का सफल उद्यमी । डिजी मार्केट इन्टरनेसनलका संस्थापक । महोत्तरी जिल्लाको सीमावर्ती क्षेत्र मधवा गाउँमा जन्मिनुभएका झालाई धेरैले प्रश्न गर्छन्, ‘गाउँको मान्छे तपाईँले कसरी यस्तो अवसर पाउनुभयो ?’
झाले यो प्रश्न धेरै पटक सुनेका छन् । कति ठाउँमा वक्ताका रूपमा आफैँ यसबारे बोलेका छन् । उनलाई लाग्छ, मानिसहरू प्रायः परिस्थितिले अल्झिन्छन् र परिस्थितिबाटै सफलताको खुड्किलो चढ्छन् ।
उनका बुबा वकिल हुन् । मधवामा करिब ९० बिघा जमिन थियो । शिक्षित र सम्पन्न परिवार भएकाले उनले फरक अवसर पाए । ‘मेरो फाइदा के भयो भने मैले राम्रो शिक्षा पाएँ । जवारलाल नेहरू विश्वविद्यालय पिएचडी गरे । जब तपाईं यस्ता उत्कृष्ट संस्थामा जान्छन्, तपाईंको भेट ठूला मानिससँग हुन्छ, तपाईंको दृष्टि फराकिलो हुन्छ’, झा सुनाए ।
उनले दिल्ली विश्वविद्यालय हंसराज कलेजबाट स्नातक र कुरुक्षेत्र विश्वविद्यालयबाट गणित विषयमा एमएससी पास गरे । सन् १९७९ देखि १९८४ सम्म जवाहरलाल नेहरू विश्वविद्यालयमा कम्युटर विज्ञानको शोधकर्ताका रूपमा काम गरे र पिएचडी उपाधि हासिल गरे । त्यसपछि उनको यात्रा, फ्रान्स, सिङ्गापुर, अष्ट्रेलिया हुँदै क्यानडातर्फ मोडियो ।
उद्यमामा कसरी मिल्यो सफलता ? उनले भने, यसको जवाफ म धेरै बुद्धिमान भएर होइन, तर सही वातावरण र परिस्थिति पाएर हो । मानिसहरू प्रायः यो कुरा राम्रोसँग बुझ्दैनन् । तपाईंको सफलता केवल तपाईंको कारणले होइन । यो त सामाजिक परिस्थिति कस्तो छ त्यसमा निर्भर गर्छ ।
पिएचडीपछि झाले सिङ्गापुरमा पाँच वर्षसम्म एक अमेरिकी कम्पनीको परामर्शदाताको रूपमा काम गरे । त्यहाँको नेशनल युनिभर्सिटी अफ सिङ्गापुरमा उनले ‘भिजिटिङ फ्याकल्टी’का रूपमा कम्प्युटर साइन्स पढाए । सिङ्गापुरमै हुँदा उनले क्यानडाको स्थायी बसोबासका लागि आवेदन दिए र तीन महिनामा नै अनुमति आयो ।
क्यानडा पुगेको दुई महिनामा झा एक कम्पनीमा निर्देशकका रूपमा नियुक्त भए । दुई वर्षमै त्यही कम्पनीको जनरल म्यानेजर भए । करिब पाँच वर्षपछि उनले त्यो कम्पनी छोडे ।
एक हजार डलर लगानी गरेर आफ्नै कम्पनी खोले –आइसोपिया इन्क । करिब अढाइ वर्षपछि त्यो कम्पनी १० करोड अमेरिकी डलरमा बिक्री भयो । ‘आइसोपिया इन्क’ क्यानडाको ऐतिहासिक सफल स्टार्टअपको रूपमा गनिन्छ । यसलाई सन् २००१ मा अमेरिकी प्रविधि कम्पनी सन माइक्रोसिस्टम इन्कले खरिद गरेको थियो ।

प्रतिक्रिया