बङ्गलादेशका पूर्वप्रधानमन्त्रीको कार्यालय क्रान्ति सङ्ग्रहालय बन्दै

ढाका । कुनै बेला कडा सुरक्षा भएको दरबार अर्थात् बङ्गलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाको पूर्वसरकारी निवासलाई उनको निरङ्कुश शासनको चिरकालीन सम्झना दिलाउन सङ्ग्रहालयमा परिणत गर्न थालिएको छ । सन् २०२४ को अगष्ट ५ मा हसिना हेलिकप्टरबाट भारत भागेपछि ढाका दरबारको छतमा झण्डा फहराइरहेका भीडको तस्बिरले उनको सरकार ढाल्ने विद्यार्थी नेतृत्वको आन्दोलनको अवस्थाको चित्रण गरेको छ ।
करिब १७ करोड जनसङ्ख्या रहेको दक्षिण एसियाली राष्ट्रमा अझै पनि राजनीतिक उथलपुथल कायमै रहेको अवस्थामा एक वर्षपछि पनि गणभवन दरबारले भविष्यका लागि सन्देश दिने अधिकारीहरूले आशा गरेका छन् । उनको शासनको निन्दा गर्दै भित्तामा कोरिएका सङ्केतहरू यथावत राखिएका छन् । भित्तामा कोरिएका सङ्केतमध्ये एकमा लेखिएको छ, ‘स्वतन्त्रता ! हामी न्याय चाहन्छौँ ।’
हसिनाको शासनकालमा राजनीतिक विरोधीहरूलाई सामूहिक हिरासत र गैरन्यायिक हत्या गर्नेजस्ता व्यापक मानव अधिकार उल्लङ्घन भएको थियो । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२४ को जुलाईदेखि अगष्टसम्मको अवधिमा सत्तामा टिकिरहने असफल प्रयासमा एक हजार ४०० जनाको मृत्यु भएको थियो । सतहत्तर वर्षीया पूर्वप्रधानमन्त्री हसिनाले ढाकामा मानवताविरुद्धको अपराधको अभियोगमा चलिरहेको सुनुवाइमा उपस्थित हुन अदालतको आदेशको अवहेलना गरेका छन् ।
भावी पुस्ताको लागि सुरक्षित कैयौँ अन्यसन्देशमध्ये अर्को एक सन्देशमा लेखिएको छ, ‘तानाशाह ! हत्यारा हसिना !’ पूर्व प्रधानमन्त्रीको कार्यालयलाई सङ्ग्रहालयमा रूपान्तरण गर्दा ‘उनको कुशासन र सत्ताबाट हटाउँदा जनताको आक्रोशको सम्झना जोगाउने’ सन् २०२६ को सुरुमा चुनाव नहुञ्जेल कामचलाउ सरकारको नेतृत्व गरिरहेका ८५ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले बताए ।
– फासीवादको प्रतीक –
अधिकारकर्मी तथा डकुमेन्ट्री फोटोग्राफर २७ वर्षीया मोस्फिकुर रहमान जोहानलगायतका हजारौं व्यक्तिले हसिनाको शयनकक्षमा पालोपालो गरी नाचेका थिए, भान्साकोठा भेटेको खाना खाएका थिए र हसीनाले माछा पालेको तालमा पौडी खेलेका थिए । ‘यसले विगतको आघात, विगतको पीडा र प्रतिरोधको कल्पना र प्रतीकलाई संरक्षण गर्नेछ,’ उनले भने । उनले थपे, ‘गणभवन फासीवादको र निरंकुश शासनको प्रतीक हो।’
यो भवन हसिनाका पिता, बङ्गलादेशका प्रथम नेता शेख मुजिबुर रहमानले निर्माण गर्नुभएको थियो र हसिनाले आफ्नो १५ वर्षको शासनकालमा यसलाई आफ्नो आधिकारिक निवास बनाएका थिए । निर्माणाधीन सङ्ग्रहालयका क्युरेटर तान्जिम वहाबले एएफपीसँग कुरा गर्दै सङ्ग्रहालयमा प्रदर्शनमा मारिएका प्रदर्शनकारीका कलाकृति समावेश गरिने बताए । उनीहरुको जीवनकथा फिल्म र फोटोग्राफको माध्यमबाट सुनाइनेछ भने हसिनाको शासनको लामो अवधिमा सुरक्षा फौजद्वारा मारिएका व्यक्तिको नाम पनि त्यहाँ राखिनेछ ।
– ‘तानाशाहका मूर्ति’ –
अन्तरिम नेता युनुसले चुनावअघि सुनिश्चित गर्न चाहेका लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउने वाचा गरेसँगै राजनीतिक दलहरू सत्ताका लागि होडबाजी चल्दा प्रयासहरू सुस्त भएका छन् । क्रान्तिको एक वर्षे वार्षिकोत्सवको पूर्वसन्ध्यामा ह्युमन राइट्स वाचले चेतावनी दिँदै अन्तरिम नेता युनुसलेसामना गर्नुपरेका चुनौतीहरू अथाह भएको जनाएको छ ।
एचआरडब्लुले भनेको छ, ‘बङ्गलादेशीहरूको अधिकारको रक्षा गर्नुको सट्टा हसिनाका समर्थकहरूमाथि प्रतिशोध लिनमा बढी केन्द्रित हिंस्रक धार्मिक कट्टरपन्थी र राजनीतिक समूहका गतिविधिका कारण अन्तरिम सरकार अड्केको जस्तो देखिन्छ । हसिनाको दरबारको संरक्षण गरिरहँदा प्रदर्शनकारीहरूले उनको शासनका अन्य थुप्रै दृश्यचिन्हहरू च्यातेका छन्। हसिनाका पिताको मूर्ति भत्काइएको छ र दुवैको चित्र च्यातेर जलाइएको छ ।








प्रतिक्रिया