सोमबार, मंसिर २२, २०८२

बागमती प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलको नेता बानियाँ दाबी पेस

नेपालखोज २०८२ साउन १९ गते १६:५०

बागमती । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका इन्द्रबहादुर बानियाँले नयाँ मुख्यमन्त्रीका लागि आज प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष दाबी पेस गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा कांग्रेस दलका नेता बानियाँले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन् ।

कांग्रेस संसदीय दलका नेता बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले संयुक्त रूपमा प्रदेश प्रमुख देवकोटालाई बुझाइएको पत्रमा बानियाँलाई मुख्यमन्त्री बनाउन कांग्रेसका ३७ जना प्रदेशसभा सदस्य र एमालेका २७ जना प्रदेशसभा सदस्य गरी ६४ जना प्रदेशसभा सदस्यहरूको समर्थन रहेको दाबी गरिएको छ ।

यही साउन १४ कांग्रेस संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा बानियाँसँग पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ आज प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए ।

मुख्यमन्त्री लामा राजीनामा बुझाएसँगै कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेका बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । यसअघि आजै प्रदेश प्रमुख देवकोटाले भोलि साउन २० गते दिउँसो २ः०० बजेसम्मको समय सीमा दिएर नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

प्रतिक्रिया