सोमबार, मंसिर २२, २०८२

चलचित्र ‘बलिदान’का ४ पात्र-अर्पण, ऋचा, हेमन्त र सन्तोषका क्यारेक्टर पोस्टर सार्वजनिक

नेपालखोज २०८२ साउन २१ गते १४:०६

काठमाडौं । यस पटकको वडा दसैँको फूलपातीको अवसरमा रिलिज हुने तयारीमा रहेको बहु प्रतीक्षित नेपाली चलचित्र ’बलिदान’ले आफ्नो प्रचार अभियानलाई थप सशक्त बनाउँदै ४ मुख्य पात्रहरूको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ ।

बुधवार सार्वजनिक गरिएको पोस्टरमार्फत अभिनेता अर्पण थापा, अभिनेत्री ऋचा शर्मा, अभिनेता हेमन्त बुढाथोकी र निर्देशक तथा कलाकार सन्तोष सेनको भूमिकालाई दर्शकसामु पहिलो पटक प्रस्तुत गरिएको हो ।

निर्देशक सन्तोष सेनका अनुसार, टिजर सार्वजनिक हुनु अगावै चलचित्रका केही विशेष पात्रहरूमध्ये कथामा गहिरो प्रभाव छोड्ने यी अनुहारहरूलाई पहिलो पटक दर्शकसामु प्रस्तुत गरिएको हो । पोस्टर सार्वजनिक गर्दै निर्देशक सेनले भनेका छन्, “यी तस्बिरहरू केवल पोस्टर होइनन्, यी पात्रहरू ती पात्रहरू हुन्, जो हाम्रो समाजका कुनाकाप्चामा लुकेको आवाज हुन् ।“

चलचित्रमा फरक र प्रभावशाली भूमिकामा देखिएका कलाकारहरूमध्ये हेमन्त बुढाथोकी सयौँ चलचित्रमा खलनायकको रूपमा आफ्नो गहिरो छवि बनाइसकेका अनुभवी कलाकार हुन् ।

अभिनेत्री ऋचा शर्मा चलचित्रमा एक फरक तरिकाले समाजको प्रतिनिधित्व गर्ने भूमिकामा देखिनेछिन् । निर्देशकका अनुसार, “उनी प्रत्येक संवादमा जीवनको असल मर्म उजागर गर्ने पात्र हुन् ।

यसअघि चलचित्रका प्रमुख अभिनेता समीर भट्ट र अभिनेत्री कविता रायको क्यारेक्टर पोस्टर सार्वजनिक भइसकेको छ। त्यस्तै, अभिनेता सौगात मल्लको रहस्यमय अवतार प्रस्तुत गर्ने पोस्टर र समीरको जन्मदिनका अवसरमा सार्वजनिक गरिएको प्रि–-टिजरले पनि व्यापक चर्चा बटुलेको थियो ।

प्रतिक्रिया