वरिष्ठ पत्रकार तेजबहादुर भण्डारीको निधन

नेपालखोज २०८२ साउन २१ गते २१:०४

कञ्चनपुर । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ पत्रकार तेजबहादुर भण्डारीको ६६ वर्षको उमेरमा आज निधन भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर निवासी भण्डारीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा निधन भएको हो ।

उनलाई केही दिनदेखि मुटुमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहनुभएका भण्डारी कञ्चनपुरबाट प्रकाशन हुने जनमानस साप्ताहिक पत्रिकाका संस्थापक सम्पादक थिए । उनले कञ्चनपुर क्षेत्रको पत्रकारिता विकासमा उल्लेखनीय योगदान दिएका थिए ।

स्वर्गीय भण्डारीका श्रीमती र दुई छोरा रहेका छन् । भण्डारीको निधनले सुदूरपश्चिमको पत्रकारिता क्षेत्रले एक अनुभवी, निष्ठावान् र कुशल नेतृत्व गुमाएको नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाका सचिव कुन्दन पाण्डेयले बताए । भण्डारीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक प्रेरणादायी अभिभावक गुमाएको उनले बताए ।

स्व भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद नारायणप्रकाश साउदले भण्डारीको निधनले कुशल समाजसेवी स्थापित पत्रकार सञ्चारजगतले गुमाएको बताए । उनले सञ्चारकर्मी भण्डारीको निधनको खबर सुन्दा स्तब्ध र दुःखी भएको बताए । -रासस

प्रतिक्रिया