१०४ वर्ष अगाडि चित्लाङको शिवालय मन्दिर

पुरानो बस्ती रहेको चित्लाङ, त्रिभुवन राजपथ बन्नु अगाडि सम्म उपत्यकाबाट तराइ जाने बाटो पर्दथ्यो । राणाकालमा चित्लाङको महत्व एकदम धेरै थियो । काठमाडौंबाट शिकारका लागि तराइ झर्दा भनौ वा भारत भ्रमणमा जाँदा यहि बाटो भएर दक्षिण लाग्दथे । त्यस्तै अंग्रेज अफिसरहरु पनि यहिँ बाटो आउँदथे । यो बाटो धेरै हिड्नुपर्ने हुँदा श्री ३ चन्द्रशमशेरले श्री ३ का लागि एउटा दरवार र श्री ५ का लागि अर्को दरवार बनाएका थिए ।
यस चित्लाङको इतिहास बुद्धकालिन समय वा त्यसपछि सम्म जोड्न सकिन्छ । सम्राट अशोकको नेपाल आगमन र छोरी चारुमतीको उपत्यकासंग नाता गाँसिए पछि यहि बाटो नै आवतजावत हुने गर्दथ्यो । सम्राट अशोकले बनाएको अशोक चैत्यको नामबाट नै यस गाउँको नाम चित्लाङ रहन गएको हो । चैत्य भएको ल अर्थात बाटो भएको हुँदा चैत्य लः भन्दा चित्लाङ भएको भन्ने गरिन्छ ।
उपत्यकामा पहिलो पटक राज्य सञ्चालन गर्ने गोपालहरु उपत्यकाबाट धपाइए पछि यहि चित्लाङमा बस्न थालेका थिए । यहाँ किरातकालीन शिवालय पनि रहेको छ । तीनवटा गजूर र तीन ढोका भएको यस त्रिपुरेशवर शिवालय वास्तवमा तीनवटा शिवको संयुक्त मन्दिर हो ।
यस मन्दिरको उत्तर तर्फको शिव जगदिश्वर, दक्षिण तर्फको शिव भक्तेश्वर र बिचको शिवको नाम भने जङ्गभक्तेश्वर हो । तीनवटा शिवका लागि तीन ढोका र तीन गजूर राखिएको छ । चित्लाङको माझ पौवामा रहेको शिवालय हाल पनि देख्न सकिन्छ । तस्विरमा १०४ वर्ष अगाडिको अवस्था देख्न सकिन्छ ।
शिवालयको ठिक अगाडि राखिएको संरचनामा कुनै बेला घण्ट राखिएको होला तर १०३ वर्ष अगाडि नै त्यहाँबाट घण्ट हराइसकेको देखिन्छ । हाल त सो घण्ट झुन्ड्याउने ढुङ्गाको संरचना पनि हाल छैन । त्यस संरचनाको माथि नागको आकृति पनि देख्न सकिन्छ । साथै सिँढीको माथि नै केही पूजा गर्ने थलो देखिन्छ । तर हाल भने यस्तो केही छैन ।
तीनवटै ढोकामा ढुङ्गामा कुँडिएको सुन्दर छेपु देख्न सकिन्छ । सय वर्ष अगाडिको तस्विरमा आकर्षक ढोका देखिन्छ । तर हाल सो ढोका छैन । पुरानो शैलीमा ढुङ्गाले बनेको मन्दिरको गजूर भने चारवटा नागले सुरक्षित बनाएको छ । जुन हाल पनि देख्न सकिन्छ ।








प्रतिक्रिया