अन्तराष्ट्रिय युवा दिवसमा ‘डाइभर्सिटी कार्निभल-विविधताको उत्सव’ सोमबार काठमाडौंमा हुने

नेपालखोज २०८२ साउन २४ गते १६:१०

काठमाडौं । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले ‘डाइभर्सिटी कार्निभल-विविधताको उत्सव’ आयोजना गर्न लागेको छ । आगामी सोमबार काठमाडौंमा हुने यस कार्यक्रममा देशभरका विभिन्न समुदाय, लिंग र भाषाका डेढ सयभन्दा बढी युवा सहभागी हुनेछन् ।

कार्यक्रममा उत्प्रेरक अन्तरक्रिया, कार्यशाला र सृजनात्मक प्रस्तुतिहरू समेटिनेछन् । मुसहर समुदायबाट पहिलोपटक डाक्टर बन्न सफल डा.स्मृति हरिजनले की (नोट स्पीच मार्फत आफ्नो विचार प्रस्तुत गर्ने छिन् । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी क्याप्टेन एन्जीला तुम्बापो सुब्बा र कलाकार नाजिर हुसेनले ‘सपना, संघर्ष र सफलता’ शीर्षकमा प्यानल डिस्कसनमा आफ्नो अनुभव साझा गर्नेछन् ।

उक्त प्यानलमा नेपाल सरकारका उपसचिव सुनिल कुमार पासमान र रेन्वो डिसबिलिटी नेपालकी उपाध्यक्ष मीना जोशीले पनि सिमान्त आवाजहरूलाई अघि ल्याउनेछन् । त्यस्तै, कार्यक्रममा महिलाहरूको ब्याण्ड ‘कासा’ र सारंगी वादक किरण नेपालीको समूहले सांगीतिक प्रस्तुति दिनेछन् भने चार जना कलाकारले एउटै क्यानभासमा चित्रकला प्रदर्शन गर्नेछन् ।

दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सका अध्यक्ष प्रदीप परियारका अनुसार यस ‘डाइभर्सिटी कार्निभल’ को माध्यमबाट सिमान्त वर्गका आवाजलाई साझा गर्दै नेपालको विविधता उत्सवको रूपमा मनाउने लक्ष्य राखिएको छ । कार्यक्रममा सहभागी युवाहरू सामाजिक भाष्य र त्यसको प्रभाव, युवा र अवसर, युवा र समग्र स्वास्थ्य, जलवायु जस्ता विषयमा कार्यशालाहरूमा गहिरो छलफल गर्नेछन् ।

छलफलबाट आएका निष्कर्ष र सुझावहरू सम्बन्धित निकायहरूमा प्रस्तुत गरिने बताइएको छ । यस उत्सवमा दलित, मधेशी, महिला, आदिवासी जनजाति, थारु, मुस्लिम, अपांगता भएका व्यक्तिहरू साथै विभिन्न यौनिक तथा लैंगिक पहिचान भएका युवाहरू सहभागी हुने आयोजकले जनाएको छ ।

यस कार्यक्रमले समावेशीताका सवालमा युवालाई बोलेर र सुनेर अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ । जातीय असमानता, अपमान र प्रतिकूलताविरुद्ध रचनात्मक प्रतिरोधी पुस्ता निर्माणका लागि स्थापना भएको संस्था दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सीमान्तकृत आवाजहरू मुखरित गर्दै आइरहेको छ ।

प्रतिक्रिया