मानव अधिकार आयोगद्वारा कैलाली कारागार घटनाबारे अध्ययन

सुदूरपश्चिम । कैलालीको धनगढीस्थित कारागारमा कैदीबन्दीबीच भएको झडपको घटनाबारे राष्ट्रिय मानव अधिकारको टोलीले स्थलगत अध्ययन गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख प्रकाशदत्त भट्ट नेतृत्वको तीन सदस्यीय टोलीले आज घटनाबारे अध्ययन गरेको हो ।
आयोग प्रदेश कार्यालयका प्रमुख भट्टले क्षमताभन्दा बढी कैदीबन्दी राखिएको, भौतिक स्रोतसाधानको अभाव रहेको र कैदीबन्दी स्थानान्तरण गर्दा परिवारका सदस्यसँग आवश्यक समन्वय नहुने गरेको पाइएको बताए । उनले भने ‘हामी अध्ययनकै क्रममा छौंँ, घटनाको कारणबारे अध्ययनपछि आयोगको केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाउने छौँ र त्यसपछि यसबारे विस्तृत जानकारी गराइने छ ।’
आयोगले गएराति कैदीबन्दीबीचको झडपपछि उत्पन्न परिस्थितिलाई थप बिग्रन नदिन स्थानीय प्रशासनले थप चुस्त व्यवस्थापन गरिनुपर्ने विषयमा पनि ध्यानाकर्षण गराएको भट्टले बताए । यसैबीच जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले कारागारको परिस्थिति नियन्त्रणमा रहेको र त्यसका लागि सबै व्यवस्थापन गरिएको बताएका छन् ।
‘उत्पन्न परिस्थितिलाई सामान्य बनाइराख्न कारागार परिसरमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरेका छौंँ । सुरक्षा व्यवस्था चुस्त बनाउन सम्पूर्ण रूपमा रणनीति अपनाइएको छ । अब थप अप्रिय घटना हुन नदिन हामी सचेत छौँ’, उनले भने ।

प्रतिक्रिया