सालाहद्वारा ‘प्यालेस्टिनी पेले’ सम्मानमा युइएफए आलोचना, मृत्यु कारणबारे प्रश्न

लन्डन । लिभरपुलका मोहम्मद सालाहले युरोपको फुटबल प्रशासकीय निकाय युइएफएको ‘प्यालेस्टिनी पेले’ सुलेमान अल–ओबेदलाई श्रद्धाञ्जलि पोस्ट गरेकोमा आलोचना गरेका छन् । पोस्टमा गाजा पट्टीमा इजरायली गोली हानाहानमा पूर्व अन्तर्राष्ट्रिय खेलाडीको मृत्यु भएको उल्लेख गरिएको छैन ।
प्यालेस्टिनी फुटबल सङ्घ (पिएफए) ले एक विज्ञप्तिमा भनेको छ, इजरायली सेनाले दक्षिणी गाजा पट्टीमा मानवीय सहायताका लागि पर्खिरहेका मानिसहरूलाई लक्षित गर्दा बुधबार ४१ वर्षीय ओबेद मारिएका थिए ।
युरोपको फुटबल प्रशासकीय निकाय युइएफएले एक्समा पोस्ट गरेको छ, सुलेमान अल–ओबेद, ‘प्यालेस्टिनी पेले’ लाई बिदाइ । एक प्रतिभा जसले अन्धकारको समयमा पनि अनगिन्ती बच्चाहरूलाई आशा दिए । इजिप्टका स्ट्राइकर सालाहले पोस्ट गरेर जवाफ दिए, के तपाईँ हामीलाई बताउन सक्नुहुन्छ कि उनको मृत्यु कसरी, कहाँ र किन भयो ?
गाजा सहरमा जन्मिएका ओबेद विवाहित थिए र उनका पाँच सन्तान थिए । उनले प्यालेस्टिनी टिमका लागि २४ वटा अन्तर्राष्ट्रिय खेल खेले । सन् २०२३ अक्टोबरमा सालाहले ‘निर्दोष आत्माहरूको थप हत्या रोक्न’ गाजामा मानवीय सहायताको अनुमति दिन ‘विश्व नेताहरूलाई एकजुट हुन’ आह्वान गरेका थिए ।
प्यालेस्टिनी लडाकू समूह हमासको सन् २०२३ अक्टोबरमा इजरायलमाथिको आक्रमणबाट सुरु भएको गाजा युद्धको सुरुआतदेखि पिएफएका अनुसार खेलकुद र स्काउटिङ क्षेत्रका छ सय ६२ जना मारिएका छन्, जसमा फुटबल समुदायका तीन सय २१ जना छन् ।
गत सिजन प्रिमियर लिगको शीर्ष स्कोरर रहेका सालाहले आइतबार लिभरपुलका लागि वेम्बलीको कम्युनिटी सिल्डमा इङ्गलिस फुटबल सिजनको परम्परागत पर्दा उठाउने क्रिस्टल प्यालेसविरुद्ध खेल्नेछन् ।

प्रतिक्रिया