‘सामुदायिक वनलाई समृद्धिसँग जोड्नुपर्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सामुदायिक वनलाई मुलुकको समृद्धितिर जोड्नुपर्ने बताएका छन् ।
ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा एमाले वन तथा वातावरण विभागले आज आयोजना गरेको ‘सामुदायिक वनको अवस्थाः चुनौती र सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सामुदायिक वनबाट समुदायलाई लाभ पुग्नुका साथै मुलुकको समृद्धितर्फ जोड्निुपर्ने धारणा राखे ।
‘अब सामुदायिक वनले सिङ्गो वनजङ्गललाई संरक्षण गर्दै समृद्धिमा जोड्नुपर्दछ’, उनले भने, ‘सरकार र सामुदायिक वन उपभोक्ता समितिबीचको सहकार्य र समन्वयमा वन सम्पदालाई समृद्ध गर्नुपर्दछ ।” उहाँले प्राकृतिक स्रोतमा राष्ट्रको स्वामित्वमा हुनुपर्ने बताउँदै त्यो स्वामित्वबाट जनताले लाभ पाउनुपर्नेमा जोड दिए ।
उपमहासचिव ज्ञवालीले सामुदायिक वनमा सरकार र स्थानीय समुदायको स्वामित्वमा सम्झौता नहुने बताउँदै दाउरा र स्याउला बान्नेलाई विस्तारै बिजुली र ग्यासमा बाल्नेतर्फ रुपान्तरण गर्न आवश्यक रहेको उल्लेख गरे । उनलेसमुदायिक वनबाटै समुदायलाई आर्थिक रूपमा सशक्त बनाउनुपर्ने भन्दै निजी क्षेत्रसँग साझेदारी गरेर सामुदायिक वनको उत्थानमा लाग्नुपर्ने धारणा राखे ।
सामुदायिक वनबाट कार्बन व्यापार गर्न सकिने धारणा राख्दै उनले भने, ‘दाउरा र घाँसपात पाइन्छ भनेर समुदायले वन जोगाएका हुन् । कार्बन व्यापारले संयुक्त राष्ट्रसङ्घबाट प्राप्त हुने पैसा पनि आउँछ भनेर समुदायलाई उत्प्रेरणा दिनसक्नु पर्दछ ।’ उनले सामुदायिक वनले समुदायको सहभागिता, विश्व वातावरणमा सन्तुलन, नागरिकको जीवनस्तर उकास्ने काम गरेकाले असाधारण योगदान रहेको चर्चा गरे ।

प्रतिक्रिया