१०४ वर्ष अगाडि चित्लाङको शिवालय मन्दिर

पुरानो बस्ती रहेको चित्लाङ, त्रिभुवन राजपथ बन्नु अगाडि सम्म उपत्यकाबाट तराई जाने बाटो पर्दथ्यो । राणा कालमा चित्लाङको महत्त्व एकदम धेरै थियो । काठमाडौंबाट शिकारका लागि तराई झर्दा भनौँ वा भारत भ्रमणमा जाँदा यही बाटो भएर दक्षिण लाग्दथे । त्यस्तै अङ्ग्रेज अफिसरहरू पनि यहीँ बाटो आउँदथे । यो बाटो धेरै हिँड्नुपर्ने हुँदा श्री ३ चन्द्रशमशेरले श्री ३ का लागि एउटा दरबार र श्री ५ का लागि अर्को दरबार बनाएका थिए ।
यस चित्लाङको इतिहास बुद्ध कालिन समय वा त्यसपछि सम्म जोड्न सकिन्छ । सम्राट् अशोकको नेपाल आगमन र छोरी चारुमतीको उपत्यकासँग नाता गाँसिए पछि यही बाटो नै आवतजावत हुने गर्दथ्यो । सम्राट् अशोकले बनाएको अशोक चैत्यको नामबाट नै यस गाउँको नाम चित्लाङ रहन गएको हो । चैत्य भएको ल अर्थात् बाटो भएको हुँदा चैत्य लः भन्दा चित्लाङ भएको भन्ने गरिन्छ ।
उपत्यकामा पहिलो पटक राज्य सञ्चालन गर्ने गोपालहरू उपत्यकाबाट धपाइए पछि यही चित्लाङमा बस्न थालेका थिए । यहाँ किरातकालीन शिवालय पनि रहेको छ । तीन वटा गजुर र तीन ढोका भएको यस त्रिपुरेशवर शिवालय वास्तवमा तीन वटा शिवको संयुक्त मन्दिर हो । यस मन्दिरको उत्तर तर्फको शिव जगदीश्वर, दक्षिण तर्फको शिव भक्तेश्वर र बिचको शिवको नाम भने जङ्गभक्तेश्वर हो । तीन वटा शिवका लागि तीन ढोका र तीन गजुर राखिएको छ । चित्लाङको माझ पौवामा रहेको शिवालय हाल पनि देख्न सकिन्छ । तस्बिरमा १०४ वर्ष अगाडिको अवस्था देख्न सकिन्छ ।
शिवालयको ठिक अगाडि राखिएको संरचनामा कुनै बेला घण्ट राखिएको होला तर १०३ वर्ष अगाडि नै त्यहाँबाट घण्ट हराइसकेको देखिन्छ । हाल त सो घण्ट झुन्ड्याउने ढुङ्गाको संरचना पनि हाल छैन । त्यस संरचनाको माथि नागको आकृति पनि देख्न सकिन्छ । साथै सिँढीको माथि नै केही पूजा गर्ने थलो देखिन्छ । तर हाल भने यस्तो केही छैन ।
तीन वटै ढोकामा ढुङ्गामा कुँडिएको सुन्दर छेपु देख्न सकिन्छ । सय वर्ष अगाडिको तस्बिरमा आकर्षक ढोका देखिन्छ । तर हाल सो ढोका छैन । पुरानो शैलीमा ढुङ्गाले बनेको मन्दिरको गजुर भने चार वटा नागले सुरक्षित बनाएको छ । जुन हाल पनि देख्न सकिन्छ ।न्छ ।

प्रतिक्रिया