भारतका केन्द्रीय मन्त्री पशुपतिमा, धार्मिक पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने

नेपालखोज २०८२ साउन २६ गते १४:२७

काठमाडौं । सनातन धर्म रक्षा र प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित संस्था कालिका साधना आश्रम नेपालको अध्यक्षमा डा. मिलनकुमार थापा नियुक्त भएका छन् । धार्मिक अभियन्ता, अन्तर्राष्ट्रिय सन्त स्वामी महामण्डलेश्वर कृष्णनन्द परमहंश कालिदास बाबा (कालीबाबा) ले असार ३ गतेको निर्णयअनुसार डा. थापालाई अध्यक्ष नियुक्त गरेका हुन् ।

भारतका केन्द्रीय बन्दरगाह, परिवहन र जलमार्गमन्त्री सर्बानन्द सोनोवालको प्रमुख आतिथ्यमा आयोजित समारोहमा अध्यक्ष नियुक्त भएका डा. थापाले आइतबार कार्यभार ग्रहण गरेका छन् । डा. थापाले कालिका साधना आश्रमले नेपालको धार्मिक पर्यटन प्रवद्र्धन गर्ने, संस्कृति र परम्परामा आस्था राख्ने विश्वभरिका सनातनीहरूलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्ने र आर्थिक विकास र समुन्नतिको आधारशीला तयार गर्ने उद्देश्यका साथ अघि बढ्ने प्रष्ट पारेका छन् ।

‘कालिका साधना आश्रम विशुद्ध धार्मिक र सामाजिक संस्था हो । यस संस्थालाई समाजसँग जोडेर प्राचीन विज्ञानमा आधारित ज्ञान र शिक्षालाई अघि बढाउने र नेपालको समृद्धिका लागि देशमा प्रमुख धार्मिकस्थलको प्रचारप्रसार गर्ने कार्यमा अघि बढाइने छ,’ डा. थापाले भने ।

धार्मिक पर्यटनमा भारतको सहयोग

पशुपतिनाथ मन्दिर परिसरस्थित हंशमण्डपमा आयोजित दशमहाविद्या रुद्रहवन महायज्ञमा सहभागी हुन र भगवान पशुपतिनाथ मन्दिर दर्शन गर्नका लागि आएका भारतका केन्द्रीयमन्त्री सोनोवालले नेपाल र भारतबिच ऐतिहासिक सम्बन्ध रहेको बताउँदै धार्मिक पर्यटन प्रवद्र्धन गर्न सहयोग गर्ने प्रष्ट पारेका छन् । मन्त्री सोनावालले जनस्तरमै रहेको सम्बन्ध अझै बलियो बनाउँदै आर्थिक समुन्नतिका लागि सहकार्यमा जोड दिए ।

धार्मिक अभियन्ता स्वामी महामण्डलेश्वर कृष्णनन्द परमहंश कालिदास बाबा (कालीबाबा) को निमन्त्रणामा काठमाडौँ आएका मन्त्री सोनोवालले दशमहाविद्या रुद्रहवनमा पनि पूजाआराधना गरे । महायज्ञका प्रमुख सल्लाहकार डा. मिलनकुमार थापाका अनुसार धार्मिक पर्यटन प्रवद्र्धन, आर्थिक विकासमा सहकार्य र समुन्नतिको नवीन रुपान्तरणको लक्ष्यका साथ महायज्ञ आयोजना गरिएको हो ।

‘कालीबाबाको निमन्त्रणामा केन्द्रीयमन्त्री सोनावाल काठमाडौँ आउनुभयो । हाम्रो लक्ष्य नेपालका धार्मिक पर्यटन प्रवद्र्धन गर्न पूर्वाधार विकास गर्नु हो । पशुपतिनाथ मन्दिर, मुक्तिनाथ, भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनी, रामजानकी मन्दिरसहितका तीर्थस्थलमा आउने श्रद्धालुलाई सहज रुपमा दर्शन गर्न पाउनेगरी समग्र भौतिक पूर्वाधार गर्न पहल थालिएको हो,’ डा. थापाले भने ।

मन्त्री सोनोवालका साथमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव पनि सहभागी भएका थिए । यसअघि, डा. थापाको अगुवाइमा ‘पशुपति दर्शन अभियान’ अन्तर्गत २०८१ माघ १ देखि ११ गतेसम्म मुम्बईमा दशमहाविद्या विष्णु सहश्रकोटी हवनमा गरिएको थियो । मन्त्री सोनावाल उक्त कार्यक्रममा पनि सहभागी भएका थिए ।

धार्मिक अभियन्ता कालीबाबाले नेपालको आर्थिक समुन्नतिलाई दृष्टिगत गरेरै महायज्ञमा भारतका मन्त्री र नेताहरूलाई आमन्त्रण गरिएको बताएका छन् । ‘नेपालमा राजनीतिक स्थिरता, आर्थिक समृद्धि र जनकल्याण होस् भन्ने हाम्रो पवित्र कामना हो । नेपाल र भारतका शीर्ष राजनीतिक नेतृत्वबिचको सम्बन्ध अझै प्रगाढ हुँदा दुवै देशलाई लाभ हुन्छ,’ उनले भने ।

महायज्ञमा सहभागी सामाजिक अभियन्ता एवं नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक विश्वराज पोखरेलले नेपाललाई समृद्ध बनाउनका लागि धार्मिक पर्यटनलाई नवीन सोचका साथ अघि बढाउनुपर्ने बताए । यसैगरी, डा. थापाको निमन्त्रणामा धार्मिक अभियन्ता डा. गुरूजी कुमारन स्वामीसहित विभिन्न राज्यबाट धार्मिक अभियन्ता, कलाकार एवं राजनीतिज्ञ पनि महायज्ञमा सहभागी भएका छन् ।

प्रतिक्रिया