कांग्रेस दैलेखका पूर्वसभापति श्रेष्ठको निधनप्रति सभापति देउवाद्वारा दु:ख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस दैलेखका पूर्वसभापति रवीन्द्रराज श्रेष्ठको निधनप्रति गहिरो दु:ख व्यक्त गरेका छन् ।
सभापति देउवाका तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी हिजो निधन भएका श्रेष्ठको निधनप्रति गहिरो दु:ख व्यक्त गरेका हुन् । सभापति देउवाले नेपाली कांग्रेस दैलेखका पूर्वसभापति श्रेष्ठको निधनको खबरले आफूलाई अत्यन्त दु:खी र स्तब्ध बनाएको बताए ।
उनले स्वर्गीय श्रेष्ठले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेका नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने बताए ।
सभापति देउवाले स्व श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गरे । विसं २००५ पुस ८ गते जन्मनुभएका स्व श्रेष्ठ प्रतिबन्धित कालमा नेपाली कांग्रेस दैलेखका सचिव र २०४८ देखि २०५१ सम्म जिल्ला सभापति भएका थिए ।
स्व श्रेष्ठले पार्टीका विभिन्न पदमा रहेर पार्टी सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया