गाजामा ५०% अस्पताल मात्र सञ्चालनमा, स्वास्थ्य सेवा चरम संकटमा

जिनेभा । संयुक्त राष्ट्रसंघको स्वास्थ्य निकाय विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार इजरायललाई गाजाको स्वास्थ्य संकटलाई ‘विपत्तिपूर्ण’ भन्दै गाजा सिटीमा कब्जा गर्नु अघि महत्वपूर्ण चिकित्सा सामग्री भण्डारण गर्न अनुमति दिन आग्रह गरेको छ ।
इजरायलले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सुरक्षा मन्त्रिपरिषद्को स्वीकृति अनुसार आफ्नो सेनाले गाजा सिटी नियन्त्रणमा लिने योजना अघि बढाउने बताएको छ, जसले विश्वभर आलोचना निम्त्याएको छ । “हामी आपूर्तिहरू संकलन गर्न चाहन्छौं ।
सबैले भन्छन्, ‘अझै मानवीय सहायता भित्रिन दिनुपर्छ’ — तर त्यो अझै पर्याप्त रूपमा भइरहेको छैन,’ डब्लुएचओका फिलिस्तीनी क्षेत्र प्रतिनिधि रिक पीपरकोर्नले बताए । उनका अनुसार, हाल ५२ प्रतिशत औषधिहरूको भण्डारण शून्य अवस्थामा छ ।
संयुक्त राष्ट्रसंघका निकायहरूले गत महिना गाजामा दुर्भिक्षको अवस्था आउन थालेको चेतावनी दिएका थिए, जसको कारण इजरायलद्वारा सहयोग आपूर्ति कडा रूपमा प्रतिबन्धित गरिएको हो । पीपरकोर्नले बताएअनुसार डब्लुएचओले आवश्यकभन्दा कम आपूर्ति मात्रै भित्र्याउन सकेको छ ।
धेरै सामग्रीहरूलाई अझै इजरायली पक्षले प्रवेश गर्न नदिएको उनले बताए । उनका अनुसार, गाजामा मात्र ५० प्रतिशत अस्पताल र ३८ प्रतिशत प्राथमिक स्वास्थ्य केन्द्रहरू आंशिक रूपमा मात्र सञ्चालनमा छन् । उत्तरी गाजास्थित अल–शिफा अस्पतालमा शैय्या क्षमता २४० प्रतिशत पुगेको छ भने अल–आहली अस्पतालमा ३०० प्रतिशत छ ।
अगस्ट ५ सम्मको तथ्यांकअनुसार, कुपोषणका कारण यो वर्ष १४८ जनाको ज्यान गइसकेको छ । गत जुलाईमा ५ वर्षमुनिका करिब १२ हजार बालबालिका तीव्र कुपोषणबाट ग्रस्त भेटिएका, जुन अहिलेसम्म गाजामा एकै महिनामा देखिएको सबैभन्दा उच्च संख्या हो । तीमध्ये दुई हजार ५६२ बालबालिका गम्भीर कुपोषणबाट पीडित छन्, जसमध्ये ४० जना अहिले पनि उपचार केन्द्रमा छन् । -रासस/एएफपी

प्रतिक्रिया