डाँडाखेत सवस्टेशनको पूर्वाधार निर्माण सकियो

नेपालखोज २०८२ साउन २८ गते ७:३५

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ डाँडाखेतमा विद्युत् सवस्टेशनको पूर्वाधार निर्माण सकिएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत–राहुघाट प्रशारणलाइन आयोजनामार्फत सवस्टेशनको पूर्वाधार निर्माण सकेर उपकरण जडान थालिएको हो ।

आयोजना प्रमुख रोशन अग्रवालले डाँडाखेत सवस्टेशनमा उपकरण राख्ने जग्गा र भवन तयार भएको जानकारी दिए । एकाउन्न रोपनीमा निर्माण भएको डाँडाखेत सवस्टेशनमा १३३-३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान अन्तिम चरणमा पुगेको छ, उनले भने, म्याग्दी नदी र सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय ग्रीडमा जोड्ने उद्देश्यले सवस्टेशन निर्माण हुन लागेको हो ।

डाँडाखेतदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर १३२ केभी क्षमताको प्रशारण लाइन र दुवै ठाउँमा सवस्टेशन निर्माणका लागि सन २०२१ को डिसेम्वर ३१ मा रु तीन अर्ब ५७ करोडमा लार्सन एण्ड टुयुब्रो लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो । गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद आगामी कात्तिक २९ गतेसम्म थप भएको छ ।

समग्रमा ७९ दशमलव १७ प्रतिशत भौतिक प्रगति भएको छ, आयोजना प्रमुख अग्रवालले भने, राहुघाटमा कमजोर भूबनोट र विपद्को जोखिम, वन क्षेत्रमा टावर निर्माणका लागि अनुमति पाउन भएको ढिलाइ र केही टावर निर्माणस्थलमा समुदायको विवादका कारणले आयोजना निर्माणको समय बढेको हो ।

१३२ केभी क्षमताको डबल सर्किट प्रशारण लाइनको हालसम्म ५९ वटा टावरको जग राखिएकोमा ४५ वटा टावरको काम पूरा भएको छ । चार वटाबाहेक सबै टावरमा ठेकेदारले काम थालेको छ । प्रशारणलाइन र सवस्टेशनको ८५ प्रतिशत उपकरण आयात भइसकेको छ ।

२२०-१३२-३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सवस्टेशनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको फाउण्डेशन सकेर संरचना निर्माण थालिएको छ । अम्बाङमा सवस्टेशन बनाउन छ वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो ।

निर्माण कम्पनीले पछिल्लो पटक केही दिनअघि भारतबाट करिब एक सय जना जनशक्ति ल्याएको छ । कूल रु चार अर्ब ८८ करोड लागत अनुमान गरिएको आयोजना निर्माणका लागि रु एक अर्ब पाँच करोड विद्युत् प्राधिकरण र रु तीन अर्ब ८२ करोड एसियाली विकास बैंकको ऋण लगानी छ ।

रघुगङ्गा गाउँपालिका–३, बेनी नगरपालिकाको ९, १०, मङ्गला गाउँपालिका–१, मालिकाको वडा नम्बर ६ र ७ मा प्रशारणलाइनको टावर निर्माणस्थल हुन् । टावर रहने निजी जग्गाधनीलाई रु एक करोड ५० लाख मुआब्जा वितरण र वन क्षेत्र प्रयोग गरेवापत रु चार करोड ५० लाखमा जग्गा खरिद गरेर सरकारलाई उपलब्ध गराएको छ ।

म्याग्दी नदीमा १७२ दशमलव आठ मेगावाट क्षमताको चार वटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । राहुघाटमा ३५ दशमलव पाँच मेगावाटको चिमखोला–राहुघाट–मङ्गले र २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेका छन् ।

कूल ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट, ४० मेगावाट क्षमताको राहुघाट र २३ दशमलब पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । तुदी पावरले बताएको चिमखोला–राहुघाट–मङ्गले र संयुक्त ऊर्जाको ठूलोखोला जलविद्युत् आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रशारणलाइनमा विद्युत् आपूर्ति गराउन थालेका हुन् ।

प्रतिक्रिया