प्रधानमन्त्रीद्वारा तुर्कमेनिस्तान भ्रमणबारे सदनलाई जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा नेपालको उच्चस्तरीय सहभागिताले यी मुलुकप्रति नेपालको गम्भीर चासो प्रतिविम्बित भएको संसद्लाई जानकारी गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर प्रधानमन्त्री ओलीले यही साउन २०-२३ मा भएको सो सम्मेलनका लागि आफ्नोे नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमणबारे जानकारी गराएका हुन् ।
उनले सम्मेलनका क्रममा औपचारिक र अनौपचारिक सम्बोधन तथा द्विपक्षीय भेटवार्ताबाट मित्र राष्ट्रहरूसँगको सम्बन्ध थप सुदृढ हुनुका साथै नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्ध र सहकार्य थप मजबुत बनाउन मद्दत पुग्ने अपेक्षासमेत आफूले गरेको बताए ।
सम्मेलन पारवाहनलगायतका चुनौतीको सामनाका उपायहरू खोज्न र ‘अवाजा प्रोग्राम अफ एक्सन’ पारित गर्न सफल रहेको बताउँदै प्रधानमन्त्री ओलीले भूपरिवेष्टित विकासशील मुलुकहरुका विकासको आकांक्षा पूरा गर्ने नयाँ र बलियो प्रतिबद्धता गरेको उनको भनाइ थियो ।
सम्मेलनमा राष्ट्रप्रमुख तथा सरकारप्रमुख, संयुक्त राष्ट्रसङ्घका महासचिव, संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका अध्यक्षहरूसहित करिब १०० मुलुकको प्रतिनिधित्व थियो ।
प्रधानमन्त्री ओलीले सम्मेलनको ‘प्लेनरी’मा आफूले अतिकम विकसित मुलुकहरूको समूहको अध्यक्ष तथा नेपालका तर्फबाट सम्बोधन गरेको र अतिकम विकसित समूहको अध्यक्षको हैसियतमा सम्बोधन गर्दै भूपरिवेष्टित विकासशील मुलुकहरूले सामना गर्दै आएका समस्याहरू उठाएको अवगत गराए ।
उनले आफ्नो मन्तव्यलाई यी मुलुकमा पूर्वाधार अभाव, बजारको सीमितता, प्राथमिक उत्पादनमा निर्भर निर्यात व्यापार, उच्च पारवहन लागत, न्यून वैदेशिक लगानी, जलवायु परिवर्तनका प्रतिकूल असरलगायत समस्याहरूमा केन्द्रित गरेको बताए ।
उनले सम्मेलनमा आफूले सहअध्यक्षता गरेको ‘भूपरिवेष्टित विकासशील मुलुकहरूका लागि व्यापार, व्यापार सहजीकरण र क्षेत्रीय आबद्धताको परिवर्तनकारी सम्भावनाको सदुपयोग’ शीर्षकको गोलमेचको उद्घाटन मन्तव्यमा आफूले समुद्रसम्म सीधा सम्पर्क नभएका कारण भूपरिवेष्टित विकासशील मुलुकहरूले उच्च पारवहन लागतसहितका विविध समस्याहरू भोग्नु परिरहेको विषय उठाएको बताए ।
ती मुलुकमा बसोबास गर्ने करिब ६० करोड मानिसहरूको जीवनस्तरमा उल्लेख्य सुधार गर्न प्रभावकारी र ठोस् कदम चाल्नुपर्ने विषयमा जोड दिएको पनि उहाँले सदनलाई जानकारी दिए ।
‘भूपरिवेष्टित विकासोन्मुख मुलुकहरूका समृद्धिका संवाहकका रूपमा संरचनागत परिवर्तन, विविधिकरण र विज्ञान, प्रविधि तथा नवप्रवर्तन’ विषयको पहिलो उच्चस्तरीय विषयगत गोलमेचलाई सम्बोधन गर्दै आफूले भूपरिवेष्टित विकासशील मुलुकहरूको अर्थतन्त्रको संरचनात्मक रूपान्तरणका लागि उत्पादकत्व बढाउन, स्रोतसाधनको परिचालन गर्न, रोजगारीका अवसरहरू सुनिश्चित गर्न र विश्वव्यापी मूल्य शृङ्खलामा आबद्धता बढाउन विज्ञान, प्रविधि र नवप्रवर्तनको प्रयोग गर्नुपर्ने विषयमा जोड दिएको प्रधानमन्त्री ओलीले संसद्लाई जानकारी गराए ।
प्रधानमन्त्री ओलीले ‘भूपरिवेष्टित विकासशील मुलुकहरूको अनुकूलन क्षमता अभिवृद्धि, सहनशीलता सवलीकरण र वातावरण परिवर्तन तथा प्राकृतिक विपत्तिको सम्बोधन’सम्बन्धी राउण्ड टेबलको मेरो सम्बोधनमा जलवायु वित्तमा भूपरिवेष्टित विकासशील मुलुकहरूको पहुँच बढाउन, प्रभावकारी अनुकूलनका उपायहरू विकास गर्न, नोक्सान र क्षति कोष (लस एण्ड ड्यामेज फण्ड)बाट लाभ उठाउन क्षमता विकास र प्रविधि हस्तान्तरणको आवश्यकता रहेकामा जोड दिएको उल्लेख गरे ।
यस्तै उच्चस्तरीय विषयगत गोलमेच ‘भूपरिवेष्टित विकासशील मुलुकहरूका लागि दिगो संरचना निर्माण, सम्पर्क सवलीकरण र सहज परिवहन प्रणाली प्रवर्द्धन’ लाई सम्बोधन गर्दै आफूले हाम्राजस्ता मुलुकहरूको दिगो विकासका लागि ट्रान्जिट मुलुक, विकास साझेदार र अन्तरराष्ट्रिय समुदायबीचको साझेदारी महत्त्वपूर्ण हुने र यसका लागि नवीन वित्तीय संयन्त्र, प्रविधि हस्तान्तरण तथा हाम्रा विशिष्ट आवश्यकताअनुरूपका क्षमता विकासका कार्यहरूमा सहयोग गर्नुपर्नेमा जोड दिएको प्रधानमन्त्री ओलीले जानकारी गराए ।

प्रतिक्रिया