‘चरा प्रकृतिका खतराको सूचक मात्रै होइन अवसर हो, यिनीहरूको संरक्षण गर्नुपर्छ’

नेपालखोज २०८२ साउन २८ गते २१:४४

देउखुरी (दाङ) । पछी संरक्षणका क्षेत्रमा अभियान चलाउँदै आएका जानकार एवं सरोकारवालाहरूले चरा संरक्षण गर्नु सबैको दायित्व भएको बताएका छन् ।

नेपाल पक्षी संरक्षण सङ्घ नेपालले चरा संरक्षणका लागि आज आयोजना गरेको छलफलमा लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारले चरा संरक्षणका लागि सबै नागरिकलाई जानकारी गराउन चेतानामूलक कार्यक्रम गर्नुपर्ने बताए ।

उनले भने, प्रदेश सरकारले चरा संरक्षणका लागि केही बजेट छुट्याएको छ, चराचुरुङ्गी मानिसका सहयोग हुन्, उनीहरूको संरक्षण गर्नु मानवको दायित्व हो । उनीहरूले हानिकारक किराफट्याङ्ग्रालाई खाने भएकाले बालीनालीमा रोगकीराको प्रकोप कम हुने गर्छ ।

चरा विज्ञ आनन्द चौधरीले बसाइँ सर्ने क्रममा चराले लामो यात्राको प्रयास गर्ने र त्यसक्रममा उनीहरूलाई आराम गर्नका आवश्यक स्थान जोगाउनुपर्ने बताए । जलवायु परिवर्तनका हिसाबले पनि चरालाई समस्या हुने गरेको उनको भनाइ छ ।

चौधरीका अनुसार चरा सङ्कटमा पर्नुका प्रमुख कारणमध्ये बासस्थानको विनाश, जलवायु परिवर्तन, मानव निर्मित भौतिक पूर्वाधार हो । उनले भने, चरा खतराको सूचकमात्रै होइन अवसर हो । अर्बौं चराले जाडो छल्नदेखि प्रजनन गर्ने क्षेत्रमा बसाइँसराइ गर्दा हिमाल, मरुभूमि, समुन्द्र उस्तैउस्तै मार्ग प्रयोग गरेर पार गर्ने उनले जानकारी दिए ।

चराका विषयमा धेरै वर्षदेखि आफू अनुसन्धानमा सक्रिय रहेको उल्लेख गर्दै उनले सो सम्बन्धमा स्थानीय तहलाई सहयोग गर्न तयार रहेको बताए । चौधरीले भने, चराको विषयमा गहिरो तरिकाले अध्ययन भएको छैन । चरालाई के कारणले असर गरेको छ, त्यसका बारेमा अध्ययन हुनुपर्छ । देउखुरीमा चरा अध्ययन गर्न पर्यटक आउने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया