मन्त्री भण्डारीद्वारा रासायनिक मल आपूर्तिलगायत विषयमा सरोकार भएकाहरूसँग छलफल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले रासायनिक मल आपूर्ति, वितरण तथा नेपालमै उत्पादनका विषयमा जिम्मेवार निकायहरूसँग छलफल गरेका छन् ।
सरोकार भएका सरकारी र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा आज मन्त्रालयमा भएको छलफलमा रासायनिक मलको आपूर्ति र वितरणमा देखिएका चुनौती तथा भविष्यमा रासायनिक र जैविक (प्राङ्गारिक) मल उत्पादन सम्भाव्यताबारे छलफल गरेका हुन् ।
छलफलमा कृषि सामग्री कम्पनी लिमिटेड, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, साल्ट ट्रेडिङ कम्पनी लिमिटेड, उद्योग विभाग, नेपाल आयल निगमका प्रतिनिधिको उपस् हेको थियो । त्यस क्रममा हाल रासायनिक मलको मौज्दात, सम्बद्ध निकायहरूको आपूर्ति क्षमता, वितरण प्रणालीमा सुधार गर्न सकिने सम्भावना तथा भविष्यमा मल उत्पादनका सम्भावनाबारे छलफल भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।
मन्त्री भण्डारीले मलको समस्या समाधान गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिए । छलफलका अन्य सहभागीहरूले हालको आपूर्ति प्रक्रियामा आवश्यक कानुनी तथा नीतिगत सुधार गर्दै वितरण प्रणालीलाई प्रक्रियागत झन्झटबिना वास्तविक किसानसम्म पुग्ने ‘डिजिटल’ प्रणाली स्थापना गर्नुपर्नेमा जोड दिएका थिए ।
त्रिभुवन विश्वविद्यालयको एक अध्ययनअनुसार माटोको उर्वर क्षमता ४० प्रतिशत घटिसकेको अवस्था देखाएकाले रासायनिक मलको व्यवस्थित प्रयोग अनिवार्य रहेको विषयमा समेत छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया