रोपाइँ पनि ठेक्कामा !

गलकोट (बागलुङ) । काठेखोला गाउँपालिका–७ रेश गाउँका गुमबहादुर घर्ती र उहाँकी श्रीमती देवी तथा अमरबहादुर थापाले गाउँका खेत बाँझिन थालेपछि ठेक्कामा रोपाइँ गर्न थालेका छन् ।
गाउँको एक हजार ५०० रोपनी रोपाइँयोग्य खेत बाँझिने क्रम बढेपछि प्रतिरोपनी रु तीन हजार २६६ मा ठेक्का लिएर उनीहरूले रोपाइँको चाजोपाजो मिलाएका हुन् ।
खेतालो खोज्नेदेखि ब्याडबाट बिउ ल्याउनेलगायत सबै कामको व्यवस्था उनीहरूले गरिदिनुहुन्छ, तर त्यसबापत अग्रिम रुपमा रकम उपब्ध गराउनुपर्छ । घर्ती दम्पतीले गत असारमा १८९ रोपनीमा रोपाइँ गरेर रु छ लाख १७ हजार ४०० आर्जन मात्र गर्नुभएन १० जनालाई रोजगारी पनि दिए ।
किसान अमरबहादुरले पनि सोही महिना १८६ रोपनी खेत रोपेर रु छ लाख सात हजार ६०० कमाए । उनले पनि १० जना खेतालालाई एक महिना रोजगारीको व्यवस्था गरे । नयाँ अवधारणाका साथ बाझा खेत हरियालीमा परिणत भएपछि वडा कार्यालयले उनीहरूलाई सम्मान गरेको छ ।
साथै खनजोत गर्न उनीहरूलाई वडाले एउटा मिनी टिलर उपहार दिने घोषणा गरेको छ । बुधबार वडा कार्यालयमा पौरखी किसानलाई सम्मान गर्दै वडाध्यक्ष प्रेम लामिछानेले भने, ‘प्याकेजमा खेत रोप्ने योजना अनुकरणीय छ । जग्गाधनीले खेताला खोज्ने, उनीहरूलाई खाना, पानी, गोरु, ट्याक्टरको व्यवस्थाको झन्झट परेन । रकम भुक्तानी भए खेत रोपियो ।’ -रासस

प्रतिक्रिया