‘बाल सङ्गठनलाई पुनर्जीवित गराउन प्रदेश सरकारले सहयोग गर्ने’

नेपालखोज २०८२ साउन २९ गते १६:१०

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल बाल सङ्गठनलाई पुनर्जीवित गराउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धा जनाएका छन् ।

नेपाल बाल सङ्गठन नक्साल काठमाडौँद्वारा आज विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले बाल सङ्गठनलाई नयाँ ढङ्गले पुनर्जीवित गरेर अगाडि बढाउन सके बालबालिकाको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने धारणा राखे । उनले सङ्गठनका विभिन्न जिल्लामा भएका संरचना उपयोगमा ल्याई अगाडि बढ्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री कार्कीले बालबालिका हाम्रो भविष्य र हाम्रो सपना भएकाले उनीहरूलाई असल संस्कार र समाजप्रति उत्तरदायी बनाउनका लागि सङ्गठनले सहयोगी भूमिका खेल्नुपर्ने उल्लेख गरे । प्रदेशस्थित सङ्गठनको भौतिक संरचना र सम्पत्तिको अध्ययन गरी प्रतिवेदन पेस गर्न सामाजिक विकास मन्त्रालयलाई उनले निर्देशन दिए ।

मुख्यमन्त्री कार्कीले प्रतिवेदनका आधारमा आगामी दिनमा प्रदेश सरकारले आफ्ना नीति र कार्यक्रम बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले सङ्घीय सरकारको हातेमालोबाट मात्रै प्रदेशमा बाल सङ्गठनलाई अगाडि बढाउन सकिने धारणा राखे ।

प्रतिक्रिया