सुडानका १७ क्षेत्र गम्भीर भोकमरीको जोखिममा : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले सुडानका १७ वटा क्षेत्रहरू हाल गम्भीर खाद्य अभावको सम्भावित जोखिममा रहेको गम्भीर चिन्ता व्यक्त गरेको छ । ती क्षेत्रहरूमा दार्फुर, नुबा पहाड, खार्तुम तथा गेजीरा क्षेत्रहरू मुख्यरूपमा उल्लेख गरिएका छन् ।
संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफान डुजारिकका अनुसार, एक वर्षअगाडि उत्तर दार्फुर राज्यको जमजम विस्थापित शिविरमा भोकमरीको पुष्टि भएको थियो । त्यसयता उक्त अवस्था दार्फुर र कोर्डोफानका अन्य भागहरूमा समेत फैलिएको छ ।
सबैभन्दा संकटग्रस्त क्षेत्र अहिले उत्तर दार्फुरको राजधानी एल फाशेर रहेको छ । संयुक्त राष्ट्रसंघको खाद्य कार्यक्रमले सो क्षेत्रमा मानवीय सहायता पु¥याउन अनुमति दिन आग्रह गरेको छ, किनभने स्थानीय बासिन्दाहरू कष्टकर भोकको अवस्थामा छन् । प्रवक्ताका अनुसार, केही मानिसहरू पशुचारा र कुहिएको खाना खाएर जीवित रहन बाध्य भएका छन् ।
खाद्य कार्यक्रममार्फत करिब दुई लाख ५० हजार मानिसलाई नगद सहायता दिइएको छ, जसबाट उनीहरूले बजारमा सीमित मात्रामा पाइने खाद्यान्न खरिद गर्न सक्छन् । तर आवश्यकताको स्तर अत्यन्तै बढ्दो छ । सन् २०२३ को चैतदेखि सुडानमा सुरु भएको सशस्त्र द्वन्द्वले दशौं हजार नागरिकको ज्यान लिएको छ र लाखौं मानिसहरू विस्थापित भएका छन् । देश अहिले गहिरो मानवीय संकटमा फसेको छ । -रासस/सिन्ह्वा

प्रतिक्रिया