बागलुङका एक जनप्रतिनिधि व्यावसायिक स्याउखेतीमा रमाउँदै

नेपालखोज २०८२ साउन ३० गते ८:३६

ढोरपाटन (बागलुङ) । छ वर्ष अघि ताराखोला गाउँपालिका–५ का अध्यक्ष मनबहादुर रोकाले परीक्षणका लागि जुम्लाबाट बिरुवा ल्याएर थाल्नुभएको स्याउखेती अहिले व्यावसायिक खेतीमा परिणत भएको भएको छ । रोयल रेड र इटालिएन फुजी उहाँको बगानका आकर्षण बनेका छन् ।

प्रारम्भमा १०० बिरुवा रोप्नुभएका उहाँले ८० वटा मात्र जोगाउन सफल भएको सुनाउनुभयो । जातका स्याउको बिरुवा लिएर लगाएका रोकाको हाल १४० बोट छन् जसले फल दिएका छन् । उनको बगान चार रोपनीमा फैलिएको छ । उनी छ रोपनीमा खेती विस्तार गर्ने योजनामा छन् । अध्यक्ष रोकाले भने, ‘अब १० रोपनीमा खेती गर्ने सोचमा छु ।’

स्याउखेतीका निम्ति उहाँले रु एक लाख ५० हजार लगानी गरेको बताउनुभयो । विभिन्न निकायले अनुदानमा बिरुवा दिँदा खासै खर्च परेको छैन । यस वर्ष करिब चार क्विन्टल स्याउ उत्पादन भएको अध्यक्ष रोकाले बताए । कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवाल सँचाइ हुने, पानी कम पर्ने र घाम बढी लाग्ने स्थानमा स्याउखेती उपयुक्त हुने बताउँछन् ।

ढोरपाटन र निसेल ढोरमा व्यावसायिक रूपमा स्याउखेती हुँदै आएको छ । जिल्लाभर ५६ दशमलव ९२ हेक्टर क्षेत्रमा स्याउखेत हुने गरेको जानारी दिँदै उहाँले बर्सेनि ३३१ दशमलव दुई मेट्रिक टन स्याउ उत्पादन बताए । -रासस

प्रतिक्रिया