भोजपुरमा घरेलु उद्योग दर्ताको सङ्ख्या घट्दै

नेपालखोज २०८२ साउन ३० गते ११:३२

काठमाडौं । भोजपुरमा घरेलु उद्योग दर्ताको सङ्ख्या घट्दै गएको छ । घरेलु उद्योग कार्यालयका अनुसार बर्सेनि क्रमिक रूपमा घरेलु तथा साना उद्योग दर्ता घटेको हो ।

आर्थिक वर्ष २०७७/७८ मा ५९१ वटा उद्योग दर्ता भएकामा गत आवको असार मसान्तसम्म ११० वटा मात्र दर्ता भएको कार्यालयले जनाएको छ ।

उद्योग दर्ता बर्सेनि घट्दो र खारेजीको सङ्ख्या बढ्दो क्रममा रहेको कार्यालयको भनाइ छ । कार्यालयको तथ्याङ्कानुसार आव २०७७/७८ मा ५९१, आव २०७८/७९ मा ४०४, आव २०७९/८० मा दुई सय ६४, आव २०८०/८१ मा १३३ र आव २०८१/८२ मा ११० वटा उद्योग दर्ता भएका छन् ।

पछिल्ला वर्षहरूमा उद्योग खारेजीको सङ्ख्या पनि बढेको छ । गत आवमा मात्र ८९ वटा उद्योग र २३ वटा वाणिज्य फर्म गरी ११२ वटा खारेजी भएको घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख रमेश ढकालले जानकारी दिए ।

भोजपुरमा उद्योगतर्फ तीन हजार ६६३ र वाणिज्यतर्फ एक हजार ८३ गरी जम्मा चार हजार ७४६ उद्योग तथा फर्म दर्ता रहेको उनको भनाइ छ । तीमध्ये करिब ५० प्रतिशत हारहारीमा निष्क्रिय अवस्थामा रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया