यूक्रेन युद्ध अन्त्यबारे छलफलका लागि फ्रान्स, जर्मनी र बेलायतका नेताहरूको भर्चुअल बैठक

वासिङ्टन । फ्रान्स, जर्मनी र बेलायतका नेताहरूले आइतबार भर्चुअल बैठक आयोजना गर्दै युक्रेनमा जारी युद्ध अन्त्यका लागि आवश्यक कदमहरूबारे छलफल गर्ने भएका छन् । यो बैठक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा सम्पन्न शिखर वार्तापछि हुने भएको हो ।
उक्त शिखर वार्तामा युक्रेन तथा युरोपेली मित्र राष्ट्रहरूलाई सहभागी गराइएको थिएन । युक्रेन र उसका युरोपेली साझेदारहरूले यसलाई रूसको सैन्य कार्यवाहिलाई समय दिन खोज्ने रणनीति भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
अलास्काबाट वासिङ्टन फर्कंदै ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग छलफल गरेका थिए । उनले भने, ‘सबै पक्षले सहमति जनाएका छन् । यो भयानक युद्धको अन्त्यका लागि सबैभन्दा उपयुक्त उपाय प्रत्यक्ष शान्ति सम्झौतामा पुग्नु हो ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्धविराम सम्झौताहरू धेरै जसो दीर्घकालीन नहुने उल्लेख गरेका थिए । तर युक्रेनी राष्ट्रपतिले यो नयाँ रणनीतिप्रति केही अनिश्चितता प्रकट गर्दै शनिबार भने ,यसले स्थिति अझ जटिल बनाएको छ । उनले थपे, यदि रूसले आक्रमण रोक्न साधारण आदेश पनि मान्दैन भने, छिमेकीहरूसँग दीर्घकालीन शान्तिपूर्ण सहअस्तित्वका लागि सहमति गराउन ठूलो प्रयास आवश्यक पर्नेछ ।
पुटिनको प्रस्तावमा ट्रम्पको समर्थन
एक अधिकारीका अनुसार ट्रम्पले वार्तामा पुटिनको प्रस्तावलाई समर्थन जनाएका छन्, जसअनुसार रूसले पूर्वी युक्रेनको डोनबास क्षेत्रलाई पूर्ण नियन्त्रणमा लिन चाहन्छ र त्यसको साटो दक्षिणी युक्रेनको केही क्षेत्रहरूमा युद्धविराम प्रस्ताव गरेको छ । तर युक्रेनी पक्षले डोनबास छोड्न अस्वीकृति जनाएको छ ।
ट्रम्पले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने तयारी रहेको समेत बताएका छन्, जसलाई जर्मन चान्सलर फ्रेडरिक मर्जले ‘महत्त्वपूर्ण प्रगति’ को रूपमा स्वागत गरे । युरोपेली संघकी कूटनीतिज्ञ काया कालसले भने पुटिनले युद्ध तत्काल अन्त्य गर्ने कुनै योजना नभएको बताउँदै वार्ता लम्ब्याउन खोजेको आरोप लगाए ।
जेलेन्स्कीको ह्वाइट हाउस भ्रमण
यसैबीच, आगामी सोमबार युक्रेनी राष्ट्रपतिको वासिङ्टन भ्रमण प्रमुख कूटनीतिक घटना बन्ने अपेक्षा गरिएको छ । केही युरोपेली नेताहरूलाई पनि सहभागी गराउने तयारी भइरहेको छ ।
जेलेन्स्कीको फेब्रुअरी महिनाको श्वेत भवन भ्रमण तनावपूर्ण भएको थियो, तर यसपटक दुई पक्षबीच सकारात्मक संवाद हुने अपेक्षा गरिएको छ । शनिबार ट्रम्पसँग ‘गहन’ छलफलपछि जेलेन्स्कीले भने, ‘म वासिङ्टन जान उत्साहित छु र युद्ध अन्त्यसम्बन्धी सबै विषयमा विस्तृत छलफल गर्न इच्छुक छु ।’
युद्ध जारी, दबाब कायम
यसैबीच, युक्रेनमा सैन्य संघर्ष जारी रहेको छ । कीभले शनिबार जनाएअनुसार, रूसले रातभर ८५ ड्रोन आक्रमण र एउटा क्षेप्यास्त्र प्रहार गरेको छ ।
मस्कोमा पुटिनले ट्रम्पसँगको शिखर वार्ता ‘समयमै र अत्यन्त उपयोगी’ भएको बताए । उनले युक्रेन र युरोपेली देशहरूलाई ‘पछाडि पछाडि चलखेल नगर्न’ आग्रह गर्दै यस प्रगतिलाई निरन्तरता दिन प्रेरित गरे ।

प्रतिक्रिया