एकता ‘रगतले होइन, समझदारीले’ हुनुपर्छ : सिरियाली राष्ट्रपति

नेपालखोज २०८२ भदौ १ गते १६:१८

दमास्कस । सिरियाका राष्ट्रपति अहमद अल–साराले देश एकीकरणको प्रक्रिया युद्ध र हिंसाबाट नभई समझदारीमार्फत अघि बढ्नुपर्ने बताएका छन् । उनले कुनै पनि विभाजनलाई अस्वीकार गर्दै दक्षिणमा इजरायलको प्रत्यक्ष हस्तक्षेप भएको आरोप पनि लगाए ।

राज्य टेलिभिजनले आइतबार प्रसारित गरेको कार्यक्रममा साराले भने, सिरियालाई एकताबद्ध गर्ने अर्को लडाइँ हाम्रो अगाडि छ, तर यो रगत र सैन्य बलले होइन, समझदारीमार्फत हुनुपर्छ । देश युद्धबाट थकित भइसकेको छ । स्वेदा प्रान्तमा हालै भएको प्रदर्शन र हिंसात्मक झडपलाई उल्लेख गर्दै उनले सबै पक्षबाट उल्लङ्घन भएको स्वीकार गरे ।

सुरक्षा बलका केही सदस्यले समेत गल्ती गरेका छन् । जे जसको संलग्नता भए पनि जिम्मेवारलाई जवाफदेही बनाउनै पर्छ, उनले जोड दिए । उनका अनुसार, ‘केही शक्तिहरू, विशेष गरी इजरायल, दक्षिणमा हस्तक्षेप गर्दै राज्यलाई कमजोर पार्ने प्रयास गरिरहेका छन् । तर सिरियालाई विभाजन गर्ने वा तोड्ने योजना असम्भव छ ।’ स्वेदामा भएको विरोधमा केही प्रदर्शनकारीहरूले इजरायली झण्डा फहराउँदै आत्मनिर्णयको माग गरेका थिए ।

ड्रुज र सुन्नी बेदुइनबीचको झडप सरकारी सेनाको हस्तक्षेपपछि चर्किएको थियो । मानव अधिकार संस्थाहरूले सेनालाई ड्रुज समुदायविरुद्ध पक्षपाती भएको आरोप लगाएका छन् । यसैबीच, सिरियाली सरकार उत्तरी भागमा रहेका अर्ध–स्वायत्त कुर्दिश प्रशासनसँग पनि वार्तामा छ । तर विकेन्द्रीकरणबारे मतभेदका कारण मार्च १० मा भएको सम्झौताको कार्यान्वयन रोकिएको छ । हामी अहिले सम्झौता कार्यान्वयनका संयन्त्रबारे छलफल गरिरहेका छौँ, राष्ट्रपति साराले भने ।

प्रतिक्रिया