जेलेन्स्कीले चाहेमा युद्ध अन्त्य गर्न सक्ने : ट्रम्प

नेपालखोज २०८२ भदौ २ गते १४:३६

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले चाहेमा युद्ध तुरुन्तै अन्त्य गर्नसक्ने वा लड्न जारी राख्न सक्ने बताएका छन् । आफ्ना युक्रेनी समकक्षी जेलेन्स्कीलाई भेट्नुअघि ट्रम्पले सो कुरा बताएका हुन् । ट्रम्पले सन् २०१४ मा ओबामा प्रशासनका समयमा भएको क्रिमियाको विलय सम्झाउँदै युक्रेनलाई नाटोमा प्रवेश नगर्ने विषयमा पुनः जोड दिए ।

उनले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखे, क्रिमिया फर्किने छैन, युक्रेन नाटोमा पनि प्रवेश गर्ने छैन, केही कुराहरू कहिल्यै परिवर्तन हुँदैनन् । शान्ति स्थायी हुनुपर्छ, अस्थायी सम्झौता होइन, जेलेन्स्कीले वासिङ्टन आइपुगेपछि क्रिमिया वा डोनबासजस्ता क्षेत्रहरू गुमाउन बाध्य पारिएको विगतलाई स्मरण गर्दै भने, अब हामी कुनै पनि भूमि त्याग्दैनौँ । युक्रेनीहरू आफ्नो स्वतन्त्रता र भूमिका लागि लडिरहेका छन् ।

हाम्रो सेना डोनेट्स्क र सुमीमा सफल भएको छ । उनले अमेरिकाप्रति र साझेदारहरूप्रति आभार व्यक्त गर्दै ‘युक्रेनको रक्षा प्रभावकारी रूपमा सुनिश्चित गर्ने’ विश्वास व्यक्त गरे । ट्रम्प–जेलेन्स्कीको भेट हालै अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ट्रम्पको उच्चस्तरीय वार्तापछि हुँदैछ । तीन घण्टा लामो उक्त वार्तापछि ट्रम्पले ‘रुस–युक्रेन युद्ध अन्त्य गर्ने सबैभन्दा राम्रो बाटो सीधा शान्ति सम्झौता हो, केवल युद्धविराम होइन’ भनेका थिए ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने, राष्ट्रपतिले अलास्काबाट फर्कने क्रममा मध्यरातमा नै जेलेन्स्की र युरोपेली नेताहरूसँग फोनमा लामो छलफल गरे । दुवै पक्ष सहमत हुने उपाय खोज्न कठिन भइरहेको छ, तर हामी निरन्तर संलग्न छौँ । रुबियोले रुसका मागहरू स्वीकार्य नभएको स्पष्ट गर्दै भने, हामी युक्रेनलाई दबाब दिँदैनौँ । रुसले अस्वीकार्य माग गरिरहेको छ र युक्रेनीहरूले छोड्न नसक्ने कुराहरूमा अडान लिएका छन् ।

प्रतिक्रिया