शनिबार, मंसिर २७, २०८२

महालक्ष्मी विकास बैंकको सन्तुलित वित्तीय विवरण, लाभाशं वितरण क्षमतामा वृद्धि

नेपालखोज २०८२ भदौ ४ गते १७:४१

काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अन्त्य सम्म समग्र वित्तीय परिसुचकहरुमा सकारात्मक सुधार गर्दै सन्तुलित अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

बैंकले हालै मात्र प्रकाशित गरेको आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ५० करोड तीन लाख रुपैंयाँ पुगेको छ । यस वर्ष बैंकको लाभाशं वितरण क्षमतामा उल्लेख्य वृद्धि भई ११ दशमलव ५१ प्रतिशत पुगेको छ ।

आर्थिक वर्ष २०८१/८२ को अन्त्य सम्म बैंकले ५६ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गर्न सफल भएकोमा ४५ अर्ब ८५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । कर्जा परिचालनमा बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा पाँच दशमलव शुन्य पाँच प्रशितले वृद्धि गरेको हो ।

साथै आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा शेयरधनी कोषमा प्रतिफल ११ दशमलव ७९ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ८३ दशमलव ९८ प्रतिशत रहेको छ । यस बैंकको खराब कर्जा अनुपात चार दशमलव ८६ प्रतिशत मात्र रहेको छ जुन नेपाल राष्ट्र बैंकले तोकेको सीमा भित्र रहेको छ । साथै बैंकको पुँजी पर्याप्यता अनुपात पर्याप्त रहेको कारणले आगामी दिनहरुमा व्यवसाय वृद्धि गर्न कुनै पुँजीगत दबाब नरहने देखिन्छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ आषाढ मसान्त सम्म कोष लागत प्रतिशत चार दशमलव ५६ प्रतिशत रहेको छ जुन अघिल्लो आर्थिक वर्षको तुलनामा दुई दशमलव ४७ प्रतिशत कम हो । कोष लागत प्रतिशत कम हुँदा सोको सकारात्मक असर आधार दरमा समेत परेको छ जसअनुसार बैंकको आधार दर २०८२ श्रावण मसान्त सम्म छ दशमलव ५४ प्रतिशत रहेको छ ।

बैंकको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदर समेत कम हुने हुँदा सोको लाभ ऋणीहरुले लिन सक्छन् । हालै मात्र बैंकले आफ्नो मोबाइल बैकिङ्ग एप ‘महालक्ष्मी स्मार्ट साथी’ मा भर्चुअल क्रेडिट कार्डको सुविधा थप गरेको छ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको देशभर एक सय तीन वटा शाखा कार्यालयहरु र आठ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।

प्रतिक्रिया