बिहीबार, पुष १०, २०८२

सन् २०२५ मा इयूको डढेलोले १० लाख हेक्टरभन्दा बढी जमिनमा क्षति

नेपालखोज २०८२ भदौ ५ गते २१:२६

पेरिस । युरोपेली सङ्घमा डढेलोका कारण सन् २०२५ को हालसम्म १० लाख हेक्टर (२५ लाख एकड) भन्दा बढी जमिन जलेर प्रभावित बनेकोे छ । सन् २०१७ मा नौ लाख ८८ हजार ५२४ हेक्टर जमिनमा क्षति पुगेकोे वार्षिक रेकर्डलाई उछिनेर बिहीबार मध्याह्नसम्ममा यो क्षेत्रफल १० लाख १५ हजार ७३१ हेक्टर पुगेको छ ।

स्पेन र पोर्चुगल डढेलोसँग व्यापकरूपमा जुधिरहेका बेला युरोपेली डढेलोको सूचना प्रणालीको सार्वजनिक अनुमानित तथ्याङ्क एएफपीले सङ्कलन गरेको कुल गणनामा आधारित छ । युरोपेली सङ्घका चार देश स्पेन, साइप्रस, जर्मनी र स्लोभाकियाले यो बर्ष डढेलोका लागि दुई दशक यताकै सबैभन्दा खराब वर्ष अनुभव गरिसकेका छन् ।

स्पेनको पश्चिमी क्षेत्रमा लागेको डढेलोका कारण चार जनाको ज्यान गइसकेको छ । डढेलोबाट सबैभन्दा बढी प्रभावित देश स्पेनमा चार लाख हेक्टरभन्दा बढी जमिन जलेको छ भने डढेलो लागेको इयूको कुल क्षेत्रफलको करिब ४० प्रतिशत स्पेनमा रहेको छ । सन् २०१७ मा पाँच लाख ६३ हजार ५३० हेक्टर जमिन जलेको युरोपेली सङ्घको कीर्तिमान रहेको पोर्चुगल इयूबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये दोस्रो स्थानमा छ । अगष्ट २१ सम्म यसको लगभग दुई लाख ७४ हजार हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । रोमानियामा डढेलो प्रभावित एक लाख २६ हेक्टर जमिन रहेको छ भने फ्रान्समा ३५,६०० हेक्टर वन खरानीमा परिणत भएको छ । मुख्यतया दक्षिणी औडे क्षेत्र अगस्टको सुरुमा भीषण डढेलोबाट तहसनहस भएको थियो ।

‘युरोपियन क्लाइमेट मोनिटर कोपर्निकस’को एक समूह ईएफएफआईएसले गरेको यो गणनाले कम्तिमा ३० हेक्टर क्षेत्र जलेको डढेलोलाई मात्र ध्यानमा राखेको छ । इयूबाहिर पनि बेलायतले गत अप्रिलमा सुरुको गर्मीका बेला लागेको डढेलो र जूनको अन्त्यमा उत्तरी स्कटल्याण्डमा लागेको डढेलो यो वर्षको अत्यधिक धेरै भएको अनुभव गरिएको जनाएको छ । बाल्कनमा, सर्बियाले पनि तथ्याङ्क सुरु भएयताको सबैभन्दा खराब वर्ष रेकर्ड गरिरहेको छ ।

अगष्ट १९ सम्ममा युरोपेली सङ्घका २७ देशमध्ये २२ देशको जङ्गलमा लागेको डढेलोले जनवरीदेखि अहिलेसम्म ३५ मेगाटन कार्बनडाइअक्साइड उत्सर्जन गरिसकेको छ । यसले इएफएफआईएसका अनुसार सन् २०१७ मा स्थापित ४१ मेगाटनको वार्षिक रेकर्डलाई पार गर्न सकिने सङ्केत गर्दछ ।

अघिल्लो वर्ष सन् २०१७ मा डढेलोका कारण पोर्चुगल, इटाली, स्पेन र फ्रान्समा गरी २०० जनाभन्दा बढीको मृत्यु भएको थियो । एएफपीलाई प्राप्त तथ्यांकअनुसार सन् २०२५ मा डढेलोका कारण इयूमा १० जनाको मृत्यु भएको छ जसमा साइप्रसमा दुई जना, फ्रान्समा एक जना र इबेरियन प्रायद्वीपमा सात जनाको मृत्यु भएको छ । -रासस/एएफपी

प्रतिक्रिया