के कृत्रिम बुद्धिमत्ताले प्रबोधन (Enlightenment) का मूल्यहरू गुमाउँदै छ ?

के कृत्रिम बुद्धिमत्ता (एआई) ले प्रबोधन जस्तै गहन बौद्धिक क्रान्ति ल्याउनेछ? एआईका अनुरागीहरूले यस्तै दाबा गर्छन् तथा अन्ततः एआईले उत्पन्न गर्न सक्ने कुरालाई ‘दोस्रो प्रबोधन युग’ भनेर समेत वर्णन गर्छन् । प्रबोधन युगको इतिहासकारको रूपमा, म यो विचारबाट आकर्षित छु — र म केही समानताहरू देख्छु। तर नजिकबाट तुलना गर्दा देखिन्छ कि एआई बौद्धिक जीवनका लागि कति हानिकारक हुन सक्छ र यसले प्रबोधनका सिद्धान्तहरूलाई नै कमजोर बनाउन सक्छ ।
समानताहरू वास्तवमै उल्लेखनीय छन् । १८औँ शताब्दीमा युरोपेली क्षेत्रमा फैलिएको बौद्धिक उथलपुथललाई इतिहासकारहरूले ‘प्रबोधन’ नाम दिएका थिए । यसैका समर्थकहरूलाई तर्कको युगको सुरुवात हुने आशाले भरिपूर्ण बनायो र उनीहरूलाई आफ्नो ऐतिहासिक क्षणलाई पूर्ण रूपमा फरक र राम्रो भविष्यतर्फको विकासको हिस्साको रूपमा हेर्न प्रेरित गर्यो ।
निरन्तर आसन्न क्रान्तिको कुरा गर्ने एआईका समर्थकहरू जस्तै १८औँ शताब्दीका फ्रान्सेली गणितज्ञ र दार्शनिक जँ ले रों द आलमबेले ‘मानव मनसको इतिहासमा एक निर्णायक मोड’ चलिरहेको र विचार र इतिहासमा ‘क्रान्ति’ को कुरा भनेका थिए । उनको सह-सम्पादक डेनिस डिडेरोले प्रबोधनको सबैभन्दा ठुलो प्रकाशन परियोजना ‘इनसाइक्लोपीडिया’ ( विश्वकोश) ले ‘सामान्य सोच्ने तरिका परिवर्तन गर्ने’ गर्व पनि गरेका थिए।
प्रबोधनका लेखकहरूले मानव ज्ञानलाई सङ्गठित गर्ने र जनतासमक्ष पुर्याउने नयाँ तरिकाहरू प्रदान गरेर आफ्ना लक्ष्यहरू अगाडि बढाउने आशा गरेका थिए। इतिहासको सबैभन्दा रचनात्मक र मौलिक सन्दर्भ कार्य ‘इनसाइक्लोपीडिया’ यस महत्त्वाकाङ्क्षाको प्रतीक थियो। सन् १७५१ देखि १७७२ सम्म प्रकाशित यसका २८ खण्डहरूमा “आबम” (रसायनशास्त्रमा सिसाको लागि प्रयोग हुने शब्द) देखि ‘ज्जुएने’ (दक्षिणी इजिप्टको एक सहर) सम्मका करिब ७४,००० लेखहरू समावेश थिए। यसले मानव ज्ञानको एक प्रणालीलाई नक्सांकन गर्यो जसले पहिलेका धर्म-आधारित प्रयासहरूलाई गहिरो रूपमा चुनौती दियो। विशेष गरी, यसले ईश्वरको ज्ञानलाई आफ्नो वृक्षको सानो शाखामा सीमित गर्यो र धर्मशास्त्रलाई भविष्यवाणी र कालो जादुसँगै एउटै वर्गमा राख्यो।
यसले नक्सांकन गरेको ज्ञान केवल अमूर्त थिएन।आज एआई अनुरागीहरू सही प्रश्नहरूको साथ, च्याटजिपिटीले विदेशी भाषादेखि अटो मेकानिक्स वा लेखासम्म जे पनि सिकाउन सक्छ भन्छन् । ‘इनसाइक्लोपीडिया’ को ११ खण्डका चित्रहरूले लगभग सबै कुरामा विस्तृत निर्देशनहरू प्रदान गरेका थिए, जस्तै ऐना बनाउने, बेकरी सजाउने वा घोडचढी मूर्ति बनाउने तरिका।
प्रबोधनका लेखकहरूले एआई टिप्पणीकारहरू जस्तै, मानव र मेसिनबिचको सिमाना धमिलो पार्ने विषयमा समेत अनुमान गरेका थिए। केही प्रबोधनका आविष्कारकहरूले लेख्ने, चित्र कोर्ने र सङ्गीत बजाउने जटिल स्वचालित यन्त्रहरूको समेत डिजाइन गरेका थिए। यो कुनै संयोग होइन कि म्यारी शेलीको सन् १८१८ को उपन्यास ‘फ्र्यांकेन्स्टाइन’ लाई प्रायः प्रबोधनको अहङ्कार र ईश्वरीय सृष्टिको नक्कल गर्ने कथित प्रयासहरूको आलोचनाको रूपमा पढिन्छ।
एआईले मानिसले सिक्ने तरिकालाई पहिले नै परिवर्तन गरिरहेको छ, किनकि विश्वविद्यालयहरूले यो उपकरणलाई आफ्नो शिक्षणमा समावेश गर्न हतार गरिरहेका छन्। प्रिन्स्टनका सहकर्मी ग्राहम बर्नेट जस्ता उत्साहीहरूले यसलाई आफ्नो पाठ्यक्रममा समावेश गर्दै प्रविधिले मानववादी शिक्षालाई ‘पुनः जगाउने’ गर्ने कुरा गर्छन्। प्रबोधनका लेखकहरूका पनि यस्तै महत्त्वाकाङ्क्षी लक्ष्यहरू थिए, जसले त्यस समयका परम्परागत शैक्षिक संस्थाहरू, जुन प्रायः चर्चहरूले सञ्चालन गर्थे, तिनीहरूको तीव्र आलोचना गरे र कोक्रो देखि विद्यावारिधिसम्म हरेक तहमा नयाँ शिक्षण योजनाहरू प्रस्ताव गरे।
वास्तवमा एआईको सबैभन्दा रोमाञ्चक पक्ष भनेको यसको कुनै पनि विषयमा व्यक्तिगत, अन्तरक्रियात्मक निर्देशन प्रदान गर्ने क्षमता हो। प्रिन्स्टनका ग्राहम बर्नेट लेख्छन्: ‘म मेरो प्रश्नहरूको जवाफमा, मेरो ध्यानलाई अनुकूलित गरी, मेरो जिज्ञासाको भावनासँग मिल्ने गरी वास्तविक समयमा ‘पुस्तक’ निर्माण गर्न सक्छु।’ प्रबोधनका लेखकहरूले पनि पुस्तकहरूलाई यस्तै तरिकाले कल्पना गरे: उपदेशात्मक ग्रन्थहरूको रूपमा होइन, बरु पाठकहरूलाई भर्चुअल संवादमा संलग्न गराउने ठाउँको रूपमा।
महान् राजनीतिक दार्शनिक बारोन द मोंटेस्क्यूले लेखेका थिए: ‘कुनै विषयलाई यति गहन रूपमा समाप्त गर्नुहुँदैन कि पाठकहरूका लागि केही गर्न बाँकी नरहोस्। उद्देश्य उनीहरूलाई पढाउनु होइन, सोच्न बाध्य बनाउनु हो।’ फ्रान्सेली ‘दर्शनशास्त्रहरू’ मध्ये सबैभन्दा प्रसिद्ध भोल्तेयरले दाबी गरेका थिए कि, ‘सबैभन्दा उपयोगी पुस्तकहरू ती हुन् जुन पाठकहरूले आधा आफैँ लेख्छन्।’ पाठकहरूलाई पढ्ने प्रक्रियामा सक्रिय रूपमा संलग्न गराउने विचार निश्चय नै आधुनिक युगभन्दा धेरै अघिको हो। तर यी कुराहरू पश्चिमी क्षेत्रको प्रबोधनमा थियो जहाँ यसले विशेष रूपमा आधुनिक रूप लियो: रमाइलो, आकर्षक, पठनीय, संक्षिप्त।
यहाँ संलग्नताको प्रश्नमा, प्रबोधन र एआईको कथित ‘दोस्रो प्रबोधन’ बिचको तुलना टुट्छ र यसले एआईको सीमा र खतराहरूबारे महत्त्वपूर्ण कुरा प्रकट गर्छ। जब पाठकहरूले पुस्तकसँग रचनात्मक रूपमा अन्तरक्रिया गर्छन्, उनीहरू अझै पनि पुस्तकको नेतृत्वलाई पछ्याउँछन्, पुस्तकका प्रश्नहरूको जवाफ दिने प्रयास गर्छन्, पुस्तकका चुनौतीहरूको जवाफ दिन्छन् र त्यसैले आफ्नै विश्वासहरूलाई अगाडी राख्छन्।
यसको विपरीत जब हामी एआईसँग अन्तरक्रिया गर्छौँ, यो हामी नै हौँ जसले कुराकानीलाई डोर्याउँछौँ। हामीले प्रश्नहरू बनाउँछौँ, , हामी हाम्रो रुचि अनुसार जिज्ञासालाई अगाडि बढाउँछौँ र प्रायः हामीले पहिल्यै जान्ने ठानेका कुराहरूलाई बलियो बनाउने जवाफहरू खोज्छौँ। च्याटजिपिटीसँग मेरो आफ्नै अन्तरक्रियामा, यसले प्रायः स्पष्ट रूपमा नक्कली चाप्लुसी साथ जवाफ दिएको छ: ‘यो उत्कृष्ट प्रश्न हो ।’ यसले कहिल्यै भनेको छैन: ‘यो गलत प्रश्न हो।’ यसले मेरो नैतिक विश्वासहरूलाई कहिल्यै चुनौती दिएको छैन र मलाई मेरो औचित्यको प्रश्न सोधेको पनि छैन।
र किन भन्ने? यो त आखिर, एक व्यावसायिक इन्टरनेट उत्पादन मात्र हो। यस्ता उत्पादनहरूले प्रयोगकर्ताहरूलाई उनीहरूले पहिल्यै रुचि देखाएका कुराहरू थप प्रदान गरेर नाफा कमाउँछन्, चाहे त्यो रमाइलो बिरालोको भिडियो होस्, साना उपकरणहरू मर्मत गर्ने निर्देशनहरू होस् वा प्रबोधनको दर्शनमा व्याख्यानहरू । यदि मैले च्याटजिपिटीलाई मेरो विश्वासहरूलाई चुनौती दिन चाहेँ भने, मैले च्याटजिपिटीलाई त्यसो गर्न भन्न सक्छु तर त्यो मैले नै भन्नुपर्छ। च्याटजिपिटी मेरो नेतृत्वलाई पछ्याउँछ, न कि म उसको ।
आफ्नो स्वभाव अनुसार एआईले लगभग कुनै पनि प्रश्नको जवाफ यति स्पष्ट र पछ्याउन सजिलो तरिकाले दिन्छ कि यसलाई लगभग बौद्धिक रूपमा पूर्व-पाचन गरिएको भन्न सकिन्छ। सामान्य प्रयोगका लागि यो स्पष्टता पूर्ण रूपमा स्वागतयोग्य छ। तर प्रबोधनका लेखकहरूले पाठकहरूलाई पाठसँग जुध्नुको महत्त्व बुझेका थिए। उनीहरूका धेरै महान् कार्यहरू रहस्यमय उपन्यासहरू, विपरीत दृष्टिकोण प्रस्तुत गर्ने संवादहरू वा पहेली र विरोधाभासले भरिएका दार्शनिक कथाहरूको रूपमा आएका थिए। एआईले प्रदान गर्ने मखमलीजस्तै सहज संश्लेषणहरूको विपरीत, प्रबोधनका लेखकहरूका कार्यहरूले पाठकहरूलाई आफ्नो क्षमता, निर्णय विकास गर्न र आफ्नै निष्कर्षमा पुग्न बाध्य बनाए ।
संक्षेपमा एआईले हामीलाई उपयोगी जानकारी, निर्देशन, सहयोग, मनोरञ्जन र यहाँसम्म कि सान्त्वना ल्याउन सक्छ। तर यसले हामीमा प्रबोधन ल्याउन सक्दैन । वास्तवमा, यसले हामीलाई प्रबोधनबाट पहिलेभन्दा पनि धेरै टाढा धकेल्न सक्छ ।
डेभिड ए. बेल प्रिन्स्टन विश्वविद्यालयमा इतिहासका प्राध्यापक हुन्।
श्रोत: न्यु योर्क टाइम्स
श्रोत: आइएनएस-स्वतन्त्र समाचार









प्रतिक्रिया