बिहीबार, चैत १५, २०८०

नेपाल टेलिकमद्वारा सोलुखुम्बुको ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालन

नेपालखोज २०७७ कार्तिक ५ गते १७:२४

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको बिकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको छ । टेलिकमका अनुसार गत असोज २९ देखि सञ्चालनमा आएको मोबाइल सेवामार्फत अब सो क्षेत्रका ग्राहकले कुराकानी गर्न र डाटा समेत चलाउन सक्नेछन् । यो भन्दा पहिले सो क्षेत्रमा कम्पनीको स्काई मोबाइलबाट मात्र सेवा उपलब्ध थियो ।

नुम्बुर हिमालको काखमा रहेको दुधकुण्ड नगरपालिकाको ताक्सिन्दुस्थित ३ हजार १३० मिटर उचाईमा जीएसएम प्रविधिको बीटीएस टावर स्थापना गरिएको छ । लुक्ला हुँदै नाम्चेसम्म पुग्ने पदयात्री यही रुट भएर जाने हुनाले यसबाट पर्यटकहरु समेत लाभान्वित हुने अपेक्षा गरिएको टेलिकमले जानकारी दिएको छ । सो क्षेत्रका नुनथला, फुलेबी, सेरा, खरिखोला, जुबिङ र पैयाँ लगायत क्षेत्रका करिब ६ सय घरधुरी अब कम्पनीको मोबाइल सेवाबाट प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखी दुर्गम तथा अति विकट स्थानका रुपमा चिनिने ती क्षेत्रका वस्तीमा नेपाल टेलिकमले निशुल्क सिम वितरण शुरु गरेको छ ।

त्यसैगरी सोलुकै दुधकोशी गाउँपालिका वडा नम्बर ४ जुबु बलंगामा अर्को टावर पनि हालै सञ्चालनमा ल्याइएको छ । करिब १ हजार २३० मिटर उचाईमा रहेको यो टावरले पनि सो क्षेत्र अन्तर्गत पर्ने देउसा, मुक्ली, कागेल, पञ्चन र जुभु गरी सो भेगमा रहेका ४ हजार घरधुरीलाई सेवा प्रदान गर्नेछ ।

यसका साथै ओखलढुंगाको रुम्जाटारमा नेपाल टेलिकमको ग्राहक सेवा केन्द्र पुनस्थापना गरिएको छ । कम्पनीले पहिले देखि नै रुम्जाटार र त्यहाँ रहेको विमानस्थलस्थित ग्राहक सेवा केन्द्रमार्फत सेवा प्रदान गरिरहेको भए तापनि करिब २ वर्ष देखि केन्द्र सञ्चालनमा थिएन । ग्राहक सेवा केन्द्र पुनस्थापना भएपछि सेवाग्राहीलाई टेलिफोन जडान गर्न, इन्टरनेट सुविधा लिन, नयाँ सिम कार्ड खरिद गर्न वा सिम परिवर्तन गर्न सहज हुनेछ । सार्थै सेवा वापत भुक्तानी गर्नुपर्ने बिल पनि सो केन्द्रमा सहजरुपले भुक्तानी गर्न सकिने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया