बिहीबार, पुष १०, २०८२

श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ

नेपालखोज २०८२ भदौ ६ गते १४:५२

कोलम्बो । श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघेलाई सरकारी खर्चको दुरुपयोग गरेको आरोपमा शुक्रबार पक्राउ गरिएको छ । उच्च प्रहरी अधिकारीका अनुसार, उनीमाथि सन् २०२३ को सेप्टेम्बर महिनामा बेलायतको भ्रमणका सन्दर्भमा सोधपुछ गरिएको थियो, जुन भ्रमणका क्रममा उनले आफ्नी पत्नीको सम्मान समारोहमा सहभागी भएका थिए ।

प्रहरी अधिकारीले जानकारी दिँदै भने, हामी उनलाई कोलम्बोको फोर्ट न्यायालयमा पेश गर्दैछौं । उहाँमाथि सरकारी स्रोतहरू व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोपमा मुद्दा दर्ता गरिनेछ । पूर्वराष्ट्रपति विक्रमसिंघे सन् २०२३ को सेप्टेम्बर महिनामा हवानामा सम्पन्न विकासशील राष्ट्रहरूको सम्मेलनमा भाग लिएपछि फर्कंदै गर्दा बेलायतको यात्रामा रोकिएका थिए ।

उक्त क्रममा उनी र उनकी पत्नी मैत्रीले वुल्भरह्याम्प्टन विश्वविद्यालयमा आयोजित एक समारोहमा सहभागी भएका थिए । विक्रमसिंघेले उक्त यात्रा व्यक्तिगत भएको र पत्नीका सम्पूर्ण खर्चहरू निजी स्रोतबाट व्यहोरेको दाबी गर्दै आएका छन् । तर प्रहरीको अपराध अनुसन्धान विभागले भने विक्रमसिंघेमाथि सो यात्राका लागि सरकारी खर्च प्रयोग गरिएको, साथै त्यस क्रममा सुरक्षाकर्मीहरूको तलब तथा खर्च पनि सरकारी ढुकुटीबाट व्यहोरेको आरोप लगाएको छ ।

विक्रमसिंघे सन् २०२२ को जुलाईमा गोटाबाया राजपाक्षेले राजीनामा दिएपछि बाँकी कार्यकालका लागि राष्ट्रपतिको जिम्मेवारीमा नियुक्त भएका थिए । गोटाबायाको शासनकालमा व्यापक जनप्रदर्शन, भ्रष्टाचार र कुशासनको आरोप लागेको थियो । राष्ट्रपतिको कार्यकालमा विक्रमसिंघेले देशको अति गम्भीर आर्थिक संकटलाई केही हदसम्म सम्हाल्न सफल भएका थिए । तर, सन् २०२५ को सेप्टेम्बरमा सम्पन्न राष्ट्रपतिको पुनःनिर्वाचनमा उनी पराजित भए ।

प्रतिक्रिया