सञ्चालनमा आयो हेटौँडा–काठमाडौं त्रिभुवन राजपथ

नेपालखोज २०८२ भदौ ७ गते ७:३८

बागमती । हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक सञ्चालनमा आएको छ । त्रिभुवन राजपथ सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–१ बागझुरामा गिट्टी बालुवासहितको भलपानी खस्दा गए रातिदेखि सो सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

सडक विभागसँग समन्वय गरी पहिरो पन्छाएपछि आज बिहानदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । यता हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक अझै अवरुद्ध छ ।

सो सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडामा वर्षासँगै माथिबाट ढुङ्गा माटोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । सडकमा खसेको पहिरो पन्छाउने कार्य भइरहेको र छिट्टै सडक सञ्चालनमा आउने प्रहरी नायब उपरीक्षक अर्यालले बताए । -रासस

प्रतिक्रिया