झोलुङ्गे पुलले सहज बन्यो यात्रा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-४ को न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको यात्रा ३० मिनेटमा छोटिएको छ ।
मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलब पाँच मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । पुल बनेपछि खोल्सा र जङ्गलमा घुमाउरो बाटो हिड्नुपर्ने समस्या हटेको मङ्गला गाउँपालिका–४ का मनमाया चोचाङ्गीले बताए ।
‘धापुङ्ग र महेश गाउँका एक सय पाँच घरपरिवारलाई वडा कार्यालय जान एक घण्टाको बाटो ३० मिनेटमा छोटिएको छ,’ उनले भने, ’बर्खामा न्युखोलामा बाढी आउँदा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता पनि हटेको छ ।’
रु ५७ लाख १० हजार ८६० लागत अनुमान गरिएको पुल उपभोक्ता समितिबाट निर्माण गरिएको हो । उपभोक्ता समितिले रु। ६४ हजार नौ सय ६१ बराबरको श्रमदान गरेका छन् ।
११ लाख ६६ हजार ४२४ मा स्टिल पाट्याे खरिद र उपभोक्ता समितिलाई ३१ लख ८३ हजार ९१ भुक्तानी भएको मङ्गला गाउँपालिकाका प्राबिधिक शाखा प्रमुख सवइञ्जिनियर रुचेन्द्र अधिकारीले बताए ।

प्रतिक्रिया