१२ महिनामा १७ खर्ब २३ अर्ब रेमिट्यान्स, पाँच लाख पाँच हजारलाई श्रमस्वीकृति

काठमाडौं । मुलुकले वैदेशिक रोजगारीबाट प्राप्त गर्नै आय बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थिति सम्बन्धी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा विप्रेषण आप्रवाह अर्थात् रेमिट्यान्स १९ दशमलव दुई प्रतिशतले बढेर १७ खर्ब २३ अर्ब २७ करोड पुगेको छ ।
अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६ दशमलव पाँच प्रतिशतले बढेको थियो । २०८२ असार महिनाको विप्रेषण आप्रवाह एक खर्ब ८९ अर्ब ११ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह एक खर्ब १७ अर्ब ७८ करोड रहेको थियो ।
समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ दशमलव तीन प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४ दशमलव पाँच प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १८ खर्ब ७४ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय १५ खर्ब ७१ अर्ब २४ करोड रहेको थियो ।
समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या पाँच लाख पाँच हजार नौं सय ५७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या तीन लाख ३३ हजार तीन सय नौ रहेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या क्रमशः चार लाख ६० हजार एक सय दुई र दुई लाख ८१ हजार एक सय ९५ रहेको थियो ।








प्रतिक्रिया