टेम्केमैयुङमा तीन करोडको लागतमा पशुपक्षी सेवा केन्द्र निर्माण

नेपालखोज २०८२ भदौ १० गते ७:१९

भोजपुर । टेम्केमैयुङ गाउँपालिकामा करिब रु तीन करोड २१ लाख लागतमा अत्याधुनिक कृषि तथा पशुपक्षी सेवा केन्द्र निर्माण सम्पन्न भएको छ । आर्थिक करिडोर पाख्रीबासमार्फत बनेको यो भवन अत्याधुनिक प्रयोगशाला, उपकरण र सुविधासम्पन्न व्यवस्थासहित सञ्चालनमा आएको हो ।

सुविधा सम्पन्न भवनबाट गाउँपालिकाको कृषि तथा पशुपालन क्षेत्रको विकासमा प्रत्यक्ष टेवा पुग्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिए । उनका अनुसार आधुनिक उपकरणसहितको भवनले सेवा प्रवाहसँगै विभिन्न समस्याको समाधान र अनुसन्धानमा नयाँ ढोका खोलेको छ ।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले भवन निर्माणले कृषि र पशु क्षेत्रको विकासमा सहयोग पुग्ने भएकाले किसानको आर्थिक उन्नतिमा टेवा पुग्ने बताए। आधुनिक उपकरणसहितको भवनले यहाँको कृषि-पशुपालन क्षेत्रमा देखिने रोगको खोजी तथा अनुसन्धान गरेर उपचारमा पद्धति लैजान सहज हुने उनको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले भवनभित्र कृषि र पशु छुट्टाछुट्टै प्रयोगशाला रहेकाले रोग र कीराको पहिचान गर्न सहज हुने बताए । भविष्यमा कुनै महामारी देखिए यही परीक्षण गरेर तत्काल कदम चाल्न सकिने अवस्था बनेको उनको भनाइ छ ।

भवन निर्माणले रोग कीराको अनुसन्धानसँगै गाउँपालिकाका नागरिकलाई सेवा प्रवाहमा सहजता भएको टेम्केमैयुङ-३ अन्नपूर्णका वडाध्यक्ष पूर्णप्रसाद राईले बताए । भवनबाट प्रवाह हुने सेवालाई नागरिकमैत्री बनाउन भूमिका खेल्नुपर्ने उनी बताछन् ।

प्रतिक्रिया