व्रत, संयम र आत्मअनुशासनसँग तीज पर्व गहिरो रूपमा जोडिएको छ : प्रधानमन्त्री

नेपालखोज २०८२ भदौ १० गते ८:५५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका (तीज)को अवसरमा सबै दिदीबहिनीलाई शुभकामना व्यक्त गरेका छन् । उनले नेपाली हिन्दू महिलाको महान् पर्व हरितालिका (तीज), २०८२ का अवसरमा आज सामाजिक सञ्जालमार्फत शील, सौजन्य र उदारताको पर्व हरितालिका तीजको सबैलाई शुभकामना व्यक्त गरेका हुन् ।

उनले भनेका छन्, ‘संयुक्त परिवार संस्कृतिको सुगन्ध बोकेको हरितालिका तीजले सबैको परिवारमा आत्मीयता, दाम्पत्यमा उल्लास र समाजमा सौहार्द फैलाओस् । सबै दिदीबहिनीहरूलाई हरितालिका तीजको मङ्गलमय शुभकामना !’ प्रधानमन्त्री ओलीले तीजलाई प्रायः गीत-नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएको जनाउँदै तर यसको मूल सम्बन्ध व्रत, संयम र आत्मअनुशासनसँग गहिरो रूपमा जोडिएको बताएका हुन् ।

आज नेपाली हिन्दू महिलाले हरितालिका तीज देवाधिदेव महादेवको पूजाआराधना गरी मनाउँदै छन् । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाको दिन हिन्दू महिलाहरूले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर तीज मनाउँछन् ।

प्रतिक्रिया